काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक, १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

सोमबार १८ जेठ २०८३
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ। जेठ १७ गते सञ्चालन गरिएको परीक्षाको नतिजा छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार आइतबार सार्वजनिक गरिएको हो।
महानगरका अनुसार परीक्षामा न्यूनतम ४० अंक प्राप्त गरेका १४ हजार ५७ जना विद्यार्थी प्रारम्भिक योग्यता क्रमको सूचीमा समावेश भएका छन्। छात्रवृत्ति महानगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालय तथा कलेजहरूमा शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गरिनेछ।
विद्यार्थीहरूले आफूले आवेदन दिएको अनलाइन पोर्टलमा रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमा प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ। पोर्टलमार्फत स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सकिने महानगरले जनाएको छ।
शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार सार्वजनिक गरिएको नतिजा प्रारम्भिक भएकाले चित्त नबुझेका विद्यार्थीले जेठ २० गते कार्यालय समयभित्र पुनर्योग (री–टोटलिङ) का लागि निवेदन दिन सक्नेछन्। पुनर्योगका लागि प्रवेशपत्रको प्रतिलिपिसहित एक हजार रुपैयाँ राजस्व बुझाई शिक्षा विभागमा आवेदन दिनुपर्नेछ।
पुनर्योग प्रक्रिया सम्पन्न भएपछि अन्तिम योग्यता क्रम सूची प्रकाशन गरिने र त्यसपछि मात्रै शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिसको प्रक्रिया सुरु हुने ढकालले जानकारी दिनुभयो।
यस वर्षको परीक्षामा एक जना विद्यार्थीले सर्वाधिक ९२ अंक प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका एक जना विद्यार्थीले ९१ अंक ल्याएका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका पाँच जना विद्यार्थीले समान ९० अंक हासिल गरेका छन्।
महानगरले नतिजासँगै फाराम भर्दा नाम, लिङ्गलगायत व्यक्तिगत विवरणमा त्रुटि भएको वा अयोग्य आरक्षण क्षेत्रमा आवेदन स्वीकृत भएको अवस्थामा त्यस्तो विवरण सच्याउन वा हटाउन पनि जेठ २० गतेभित्र निवेदन दिन सकिने जनाएको छ। तर, नयाँ आरक्षण क्षेत्र थप गर्न भने पाइने छैन। विवरण सच्याउन प्रमाणित कागजातसहित शिक्षा विभागमा आवेदन दिनुपर्नेछ।
चालु शैक्षिक सत्रका लागि छात्रवृत्ति छनोट गर्न महानगरले वैशाख ३ गते पहिलो पटक सूचना प्रकाशित गरेको थियो। परीक्षाका लागि ८३ वटा परीक्षा केन्द्र तोकिएका थिए।
छात्रवृत्तिका लागि २६ हजार ८८८ जना विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो भने परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी भएका थियोे ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE