काठमाडौं–२ मा आजपा उम्मेदवार तिलक थापामगरको सम्पर्क कार्यालय स्थापना
बज्राचार्यको नेतृत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

शनिबार २४ माघ २०८२
काठमाडौं / काठमाडौं क्षेत्र नं. २ अन्तर्गत मुलपानी–पिपलबोट मा आम जनता पार्टी (आजपा) का सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार तिलक थापामगर को सम्पर्क कार्यालय स्थापना गरिएको छ।
साँखु निवासी ७५ वर्षीया पदमा गुरुङ ले एक कार्यक्रमबीच सम्पर्क कार्यालयको उद्घाटन गर्दै उम्मेदवार थापामगरलाई विजयीको शुभकामना व्यक्त गरिन्। सोही अवसरमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका जेपी बज्राचार्य को संयोजकत्वमा तथा कालबहादुर विक को सहसंयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ।
‘मोबाइल छापमा सबैको भोट !
भ्रष्टाचारीहरूलाई दरिलो चोट !!’
भन्ने मूल नारासहित सम्पन्न सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा स्थानीयवासी, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै स्थानीय भक्तबहादुर गुरुङ ले काठमाडौं–२ का जनताको समस्या समाधानका लागि दिनरात खटिने उम्मेदवार थापामगरलाई विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्ने बताए।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा आजपाबाट
काठमाडौं–१ का उम्मेदवार कमल सुवेदी,
काठमाडौं–२ का उम्मेदवार तिलक थापामगर,
काठमाडौं–३ का उम्मेदवार रूपसागर उपाध्याय,
काठमाडौं–५ का उम्मेदवार कोमल पौडेल,
काठमाडौं–६ का उम्मेदवार सफलता बोगटी,
काठमाडौं–८ का उम्मेदवार खगेस रञ्जित,
भक्तपुर–१ का उम्मेदवार देवेन्द्र ठाकुर,
भक्तपुर–२ का उम्मेदवार देवकुमारी साह,
ललितपुर–२ का उम्मेदवार लखिन्द्र साह
को विशेष उपस्थिति रहेको थियो।
यस्तै आजपाका समानुपातिक उम्मेदवारहरू विक्रम बम, प्रतिमा थापामगर, कालबहादुर विक, धनकुमारी जोगी, नानुमाया तामाङ, आशा श्रेष्ठ, सर्मिला लिम्बु, उमा श्रेष्ठ लगायत स्थानीय सर्वसाधारण, बुद्धिजीवी तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार तिलक थापामगर ले यस क्षेत्रबाट विगतमा निर्वाचित नेताहरूले स्थानीय समस्याप्रति चासो नदिएको आरोप लगाए। खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सुकुम्बासी समस्या, रोजगारी लगायतका विषयमा स्थानीय जनताले गम्भीर समस्या भोगिरहेको उनले बताए।
उनले भने,
“ठूला कुरा गरेर यसअघि निर्वाचन जित्नेहरूले काम नगर्दा स्थानीय जनतामा आक्रोश छ। संघीय राजधानी काठमाडौं भएर पनि यहाँका आधारभूत समस्या समाधान हुन सकेका छैनन्।”
भ्रष्टाचार, कुशासन र अनियमितताको अन्त्य तथा वर्तमान प्रणाली सुधारका लागि आफूले आजपाबाट उम्मेदवारी दिएको बताउँदै थापामगरले खानेपानी, शिक्षा र रोजगारीका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। आजपाले विगतदेखि नै सुकुम्बासी समस्या, खानेपानी अभाव, बेरोजगारी र मनोमानी कर आतंक विरुद्ध संघर्ष गर्दै आएको उल्लेख गर्दै यी समस्या समाधान अब आजपाले नै गर्ने दाबी गरे।
उनले सहकारी, लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित नागरिकलाई न्याय दिलाउन पार्टीले गरेको संघर्ष र आन्दोलनबारे जानकारी गराउँदै आगामी दिनमा पनि संघर्षका कार्यक्रम निरन्तर जारी रहने बताए।
काठमाडौं–२ मा रहेको मनोहरा खोला पीडितको न्यायका लागि नै आफू उम्मेदवार बनेको उल्लेख गर्दै थापामगरले आफू पनि मनोहरा खोला पीडित भएकाले यहाँको वास्तविक समस्या राम्ररी बुझेको बताए। उनले ‘मोबाइल’ छापमा मतदान गरी आजपाका उम्मेदवारहरूलाई विजयी बनाउन स्थानीय मतदातासँग आग्रह गरे।
काठमाडौंको धर्म, संस्कृति, रीतिरिवाज, कला र साहित्यको संरक्षण तथा जगेर्ना गर्दै राजधानीलाई देशकै नमुना शहरका रूपमा विकास गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE