सभामुखमा डिपी अर्याल निर्विरोध
प्रतिनिधिसभामा रास्वपाको बहुमतका कारण एकल उम्मेदवारी

शुक्रबार २० चैत २०८२
काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। सभामुख पदका लागि तोकिएको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।
सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। उक्त अवधिमा अर्यालबाहेक अन्य कुनै उम्मेदवारी दर्ता नभएको निर्वाचन समितिले जनाएको छ।
यद्यपि, औपचारिक निर्वाचन प्रक्रिया भने चैत २२ गते हुने तय गरिएको छ। सोही दिन बस्ने प्रतिनिधि सभाको बैठकले अर्याललाई औपचारिक रूपमा सभामुख घोषणा गर्नेछ।
हाल सभामुख पद रिक्त रहेकाले प्रतिनिधि सभा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सञ्चालन गर्दै आएका छन्।
प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले विपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नदिएको जनाइएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका मात्रै १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन्।
यसैबीच, मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले संविधान र कानुनको दायराभित्र रहेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले निर्धारण गरेका छन्। म त्यही अनुरूप अघि बढ्नेछु।”
अर्यालले प्रक्रिया पूरा भएपछि आफूले संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर निष्पक्ष रूपमा व्यवस्थापिकाको काम अघि बढाउने बताएका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE