शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

मनसुनमा हैजाको जोखिम, सतर्कता अपनाउन आग्रह

मनसुनसँगै हैजा र झाडापखालाको जोखिम बढ्यो दूषित पानी र अस्वच्छ खाना संक्रमणको मुख्य कारण
Spread the love

काठमाडौँ । नेपालमा मनसुन सुरु भएसँगै पानीजन्य रोगहरूको जोखिम बढ्न थालेको छ । विशेषगरी हैजा, झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टेराइटिस), टाइफाइड र अन्य आन्द्राजन्य सङ्क्रमण वर्षायाममा तीव्र रूपमा फैलिने भएकाले स्वास्थ्य मन्त्रालयले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । देशभरका अस्पतालको निगरानी प्रणालीमा पछिल्ला साताहरूमा झाडापखालाका बिरामी सबैभन्दा बढी देखिएका छन् ।

रोग नियन्त्रण तथा महामारी विज्ञान महाशाखा इपिडिमियोलोजीका अनुसार वर्षायाममा दूषित पानी र अस्वच्छ खानाको सेवनका कारण हैजा फैलिने जोखिम अत्यधिक हुन्छ । पछिल्ला साप्ताहिक निगरानी प्रतिवेदनमा पनि एक्युट ग्यास्ट्रोएन्टेराइटिस सबैभन्दा धेरै रिपोर्ट हुने रोगका रूपमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो सातामा देशभरका विभिन्न प्रदेशमा रहेका स्वास्थ्य संस्थाहरूमा ७२०, ७६२ र ७१८ भन्दा बढी झाडापखालाका बिरामी स्वास्थ्य संस्थामा पुगेको तथ्याङ्क प्राप्त भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार हैजा भिब्रियो कोलेरी नामक जीवाणुबाट हुने तीव्र झाडापखालाको रोग हो । समयमा उपचार नपाए बिरामीमा शरीरबाट पानी र लवण अत्यधिक घट्ने, रक्तचाप कम हुने र ज्यानसमेत जान सक्ने जोखिम हुन्छ । ‘समयमै जीवनजल (ओआरएस), पर्याप्त तरल पदार्थ र आवश्यक परे चिकित्सकीय उपचार पाए अधिकांश बिरामी पूर्णरूपमा निको हुन्छन्’ टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउनुहुन्छ ।

नेपालमा विगतका वर्षहरूमा काठमाडौँ, ललितपुर, कैलाली, रुपन्देही, प्युठानलगायत जिल्लामा हैजाका पुष्टि भएका प्रकोप देखिएका थिए । त्यसबेला दूषित खानेपानी नै सङ्क्रमणको प्रमुख स्रोत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । यस्ता अनुभवका आधारमा यस वर्ष पनि जोखिमयुक्त क्षेत्रमा निगरानी, पानी परीक्षण तथा जनचेतना अभियानलाई तीव्र बनाइएको छ ।

विशेषज्ञहरूका अनुसार वर्षायाममा नदी, मुहान, इनार र पाइपलाइनको पानी वर्षाको भेलसँग मिसिएर दूषित हुने सम्भावना बढी हुन्छ । त्यसैले उमालेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएको पानी मात्र पिउन, खाना राम्ररी पकाएर खान, फलफूल तथा तरकारी सफा पानीले धोएर मात्र प्रयोग गर्न र खुला ठाउँमा बेचिने अस्वच्छ खाना नखान आग्रह गरिएको छ ।

हात धुने बानी पनि हैजा नियन्त्रणको सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो । शौचालय प्रयोग गरेपछि, खाना पकाउनुअघि, खाना खानुअघि तथा बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात धुन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूमा सङ्क्रमणको जोखिम बढी हुने भएकाले उनीहरूको विशेष हेरचाह गर्नुपर्ने बताइएको छ ।

यदि कसैलाई बारम्बार पानीजस्तो पखाला, बान्ता, अत्यधिक तिर्खा लाग्ने, आँखा गाडिने, कमजोरी हुने वा पिसाब कम हुने लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न चिकित्सकहरूले आग्रह गरेका छन्। घरमै बसिरहने वा घरेलु उपचारमा मात्र भर पर्नु जोखिमपूर्ण हुन सक्छ ।

डा.पुन भन्नुहुन्छ,मनसुनसँगै आउने हैजा र झाडापखालाको चुनौती नियन्त्रण गर्न सरकारको निगरानी प्रणाली, स्थानीय तहको खानेपानी तथा सरसफाइ व्यवस्थापन, र नागरिकको व्यक्तिगत सावधानी सबै उत्तिकै आवश्यक छन् । सुरक्षित पानी, स्वच्छ खाना, नियमित हात धुने बानी र समयमै उपचार नै हैजाबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हुन् ।

source news of nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x