फेवातालमा डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की / नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक फेवाताल मा डुङ्गा चढ्ने यात्रु तथा डुङ्गा चालकको पहिलोपटक बिमा गरिएको छ। फेवा डुङ्गा व्यवसायी सङ्गठनले तालमा सञ्चालन हुने डुङ्गाका चालक र यात्रुका लागि बिमा व्यवस्था लागू गरेको हो।
सङ्गठनका अध्यक्ष बलराम गिरीका अनुसार शिखर इन्स्योरेन्स सँगको सम्झौताअनुसार आगामी एक वर्षका लागि बिमा योजना लागू गरिएको छ। बिमा अन्तर्गत तालमा कुनै दुर्घटना भई घाइते भएमा उपचार खर्चस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराइनेछ भने मानवीय क्षति भएमा पीडित परिवारले पाँच लाख रुपैयाँ क्षतिपूर्ति प्राप्त गर्नेछन्।
अध्यक्ष गिरीले सङ्गठनमा दर्ता भई सञ्चालनमा रहेका सबै डुङ्गामा यो व्यवस्था लागू हुने जानकारी दिए। उनले बिमा व्यवस्था लागू गर्न लामो समयदेखि प्रयास गरिए पनि अहिले मात्रै सफल भएको उल्लेख गर्दै सुरक्षाका दृष्टिकोणले यो कदम महत्वपूर्ण रहेको बताए।
“बिमा व्यवस्थाले डुङ्गा चालक र यात्रु दुवैलाई थप सुरक्षित महसुस गराउनेछ। यसले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएका छौँ,” उनले भने।
फेवातालमा हरेक वर्ष विभिन्न प्रकारका डुङ्गा दुर्घटना हुने गरेका छन्। बिमा व्यवस्था लागू भएसँगै चालकहरूले पनि सुरक्षाको अनुभूति बढेको बताएका छन्।
हाल फेवातालका आठ वटा डुङ्गा स्टेसनबाट ८४७ वटा डुङ्गा सञ्चालनमा छन् भने करिब ३५० जना डुङ्गा चालक यस पेशामा आबद्ध छन्।
पोखरा को प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको फेवातालमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य चहलपहल रहने गर्छ। तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा पर्यटक डुङ्गा चढ्ने गरेका छन्। बिमा व्यवस्थाले अब फेवातालको जलपर्यटनलाई थप सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE