रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गृहकार्य भइरहेको छ: मन्त्री यादव

बागमती, ९ जेठ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्न सरकारले तीव्र गृहकार्य गरिरहेको बताएकी छन् ।
हेटौँडास्थित औद्योगिक क्षेत्रको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण अवस्थामा पुगेको यस ऐतिहासिक कपडा उद्योगलाई पुनः ब्युँताउन सके मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले सरकारले यो उद्योग सञ्चालनको कामलाई छिट्टै तीव्रता दिने समेत स्पष्ट पारिन् ।
आगामी बजेटमा रकम विनियोजन गरिने
निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले देशको आर्थिक अवस्था सुदृढ बनाउन र आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न सरकारले देशभित्रका रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने नीति लिएको जानकारी दिइन् ।
”बन्द उद्योगहरू सञ्चालनमा आउँदा देशमै रोजगारीका नयाँ अवसरहरू सिर्जना हुन्छन् र युवा पलायन रोकिन्छ,” मन्त्री यादवले भनिन्, “हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकार आवश्यक तयारीमा जुटिसकेको छ र आगामी आर्थिक वर्षको बजेटमा यसका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्दछु ।”
औद्योगिक क्षेत्रको पृष्ठभूमि
अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम संवत २०२० साल मङ्सिर २० गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्र देशकै प्रमुख औद्योगिक केन्द्रमध्ये एक हो । हाल यस औद्योगिक क्षेत्रभित्र कुल १४७ वटा उद्योग तथा प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन् ।
लामो समयदेखि नेपाली कपडा उत्पादनको धरोहरका रूपमा रहेको यो उद्योग पुनः सञ्चालनमा आउने मन्त्रीको आश्वासनपछि स्थानीय उद्योगी, व्यवसायी र सर्वसाधारणमा उत्साह थपिएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE