जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

बिहीबार १२ चैत २०८२
काठमाडौं / नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ मा घटेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ।
बारले आयोगले आफ्नो क्षेत्राधिकार नाघेर न्यायालयसम्बन्धी विषयमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाएको छ। यस विषयमा छलफल गर्न बारले आज दिउँसो १:३० बजे सल्लाहकार समिति बैठकसमेत बोलाएको जनाएको छ।
बारका महासचिव केदारप्रसाद कोइरालाले प्रतिवेदनले न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक धारणा सिर्जना गर्न सक्ने बताएका छन्।
उनले भने, “प्रतिवेदनले न्याय प्रणालीप्रति अविश्वास बढाउने खालको सन्देश दिएको छ, जसप्रति हाम्रो स्पष्ट असहमति छ। यसबारे कानुन व्यवसायीबीच गम्भीर छलफल हुनेछ।”
प्रतिवेदनमा भने न्यायमा सर्वसाधारणको पहुँच कमजोर रहेको, वकिलको शुल्क महँगो भएको तथा न्याय प्रणालीमा विभिन्न विकृति र विसंगति रहेको उल्लेख गरिएको छ।
साथै, सर्वसाधारण नागरिकका लागि न्याय प्राप्ति अझै कठिन र खर्चिलो रहेको पनि प्रतिवेदनले औंल्याएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE