पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती, पेट्रोल २० र डिजेल ३० रुपैयाँ सस्तो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य असार १७ गतेदेखि लागू हुनेछ।
नयाँ व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ। काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेल/मट्टितेलको १५५ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएर २,०६० रुपैयाँ कायम गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाइएको निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो। ढुवानी दूरीका आधारमा देशलाई तीन वर्गमा विभाजन गरी फरक–फरक मूल्य निर्धारण गरिएको निगमले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE