काठमाडौंमा थाकसद्वारा नयाँ वर्ष, सिरुवा पावैन तथा जुरशितल भव्यताको साथ सम्पन्न

मङ्गलबार १ बैशाख २०८३
काठमाडौं । नयाँ वर्ष २०८३ को सुखद आगमनको अवसरमा थारू कल्याणकारिणी सभा (थाकस), उपत्यका कार्य समिति काठमाडौंद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
“कला, संस्कृति र भेषभूषा थारूहरूको पहिचान; संरक्षण, संवर्द्धन र प्रवर्द्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नयाँ वर्षसँगै थारू समुदायको प्रमुख पर्व सिरुवा पावैन तथा जुरशितलको महत्वबारे चर्चा गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, सकारात्मक सोच र सफलताको मार्ग प्रशस्त गरोस् भन्ने कामना व्यक्त गरेका थिए।
जुरशितल पर्व मनाउने क्रममा बिहानै स्नान गरी ज्येष्ठ व्यक्तिले कनिष्ठको शिरमा जल छर्कने र कनिष्ठले ज्येष्ठको पाउमा जल अर्पण गरी आशीर्वाद लिने परम्परा रहेको छ। यस अवसरमा थारू समुदायले विविध परिकार तयार पार्ने, गाउँघर तथा मठमन्दिर सरसफाइ गर्ने र मेलाहरूमा सहभागी हुने चलन रहेको छ।
उपत्यकामा बसोबास गर्ने थारू समुदायबीच आपसी एकता, भाइचारा र सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा थारू संस्कृति झल्किने विविध पक्षबारे चर्चा गर्दै शुभकामना आदान–प्रदान गरिएको थियो।
कार्यक्रममा थाकसका केन्द्रीय उपाध्यक्ष प्रभात चौधरी, साहित्यकार बुधसेन चौधरी, कनुलाल चौधरी, कवित्री शान्ति चौधरी, राकेश सिंह, विजय चौधरी, प्रतिमा चौधरी, गुन्जा चौधरी, रामस्वागत चौधरी, अनिता चौधरी, सुशीला चौधरी, सञ्चारकर्मी सर्ला चौधरी, गीता चौधरी, भागवत प्रसाद चौधरी, चन्द्र प्रसाद चौधरी लगायत बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको थारू समुदायले सिरुवा तथा जुरशितल पर्व फरक–फरक नामले मनाउने गरेको उल्लेख गर्दै साहित्यकार बुधसेन चौधरीले पर्वको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि थारू कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष प्रेमी लाल चौधरी रहनुभएको थियो भने उपत्यका समितिका उपाध्यक्ष शत्रुघन प्रसाद चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन उमेश कुमार चौधरीले गर्नुभएको थियो।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE