पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने जनाएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा हिमाली र पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशलगायतका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा हिमाली भूभागका एक-दुई स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने जनाइएको छ।
महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE