मङ्गलबार १७ भदौ २०८२
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य हरि ढकालले सरकारमा जाने सवालमा आफूहरुको गल्ती भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले राष्ट्रिय भेलामार्फत नै सरकारमा जानु गलत थियो भनेर आत्मसमीक्षा गरिसकेको बताएका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनपछि रास्वपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई पटक सहभागी भएको थियो ।
‘सरकारमा जाने सन्दर्भमा हामीलाई केही गर्न सकिन्छ कि भन्ने हुटहुटी थियो । त्यसको प्रयोग गरियो । हामीले हाम्रो राष्ट्रिय भेलामार्फत नै सरकारमा जानु गलत थियो भनेर आत्मसमीक्षा गरिसकेका छौं,’– उनले भने ।
साथै, उनले आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनमा रास्वपाका उम्मेदवार लेखजङ्ग थापाले जित्ने दाबी गरे । इलामको तीतो अनुभवबाट खारिएर सुझबुझका साथ रुपन्देही–३ मा उम्मेदवार उठाएको पनि उनले बताए । ‘राष्ट्रिय स्वतन्त्र पाटीले जित्छ । अलिदिन धैर्य गर्नुहोला । कात्तिक कुर्नु होला । इलामको त्यो तीतो अनुभव र त्यो अनुभवले खारिएका हामीले नयाँ प्रयोग गरेका छौं,’– उनले भने ।
नेता ढकालले नेकपा (माओवादी केन्द्र) लगायत कुनै पनि दलसँग चुनावी गठबन्धन नहुने प्रष्ट पारे । उनले रास्वपामा जोडिनका लागि दल सबैका लागि खुला रहेको, तर कसैसँग चुनावी गठबन्धन, एकता र सहकार्य भने नहुने बताए । ‘चुनावी गठबन्धन कहिल्यै पनि हुँदैन । एक दिन पनि कुनै दलसँग पनि हुँदैन । यही मोर्चामा जोडिँदाखेरी सबैलाई यो दल खुला छ,’– उनले भने ।
उनले आफ्नो पार्टी रास्वपा अहिले बुलिसमा रहेको बताए । उनले माओवादी केन्द्रलगायतका दललाई बियरिसको संज्ञा दिँदै भने, ‘म शेयर बजारको अलिकति जानकारी पनि राख्ने । शेयर बजारमा बुलिस र बियरिस हुन्छ नि । बढ्दो र घट्दो । बियरिसवालाहरुले बुलिसवालालाई हेर्नु स्वभाविक हो । हाम्रो पार्टी अहिले बुलिसमै छ । त्यही भएर बियरिसहरुको आँखा परेको होला ।’ स्रोत : RN







WRITE COMMENTS FOR THIS ARTICLE