प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयक २०८३ प्रस्तुत गरिने

काठमाडौं, जेठ २९ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावहरू प्रस्तुत हुने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्नेछन्। उक्त विधेयकमार्फत आगामी आर्थिक वर्षका लागि विभिन्न मन्त्रालय तथा निकायलाई बजेट विनियोजन गर्ने व्यवस्था गरिनेछ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सदनमा पेस गर्नेछिन्।
मन्त्री कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE