नेपाल र अमेरिकाबीच आज निर्णायक भिडन्त

शनिबार २ जेठ २०८३
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका बीच महत्वपूर्ण एकदिवसीय क्रिकेट खेल हुँदैछ । खेल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
नेपाल र अमेरिकाबीचको प्रतिस्पर्धा अहिलेसम्म निकै रोमाञ्चक रहँदै आएको छ । दुवै टोलीले एकदिवसीय अन्तर्राष्ट्रियमा ९ खेल खेल्दा नेपाल र अमेरिकाले समान ४–४ खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको थियो ।
अंक तालिकामा नेपाल राष्ट्रिय क्रिकेट टोली दबाबमा रहेको छ । नेपालले २५ खेलबाट १८ अंक जोड्दै सातौं स्थानमा रहेको छ । नेपालले ८ खेलमा जित निकाल्दा १५ खेलमा हार बेहोरेको छ भने २ खेलमा अंक बाँडेको थियो ।
यता अमेरिका राष्ट्रिय क्रिकेट टोली उत्कृष्ट लयमा देखिएको छ । अमेरिकाले २५ खेलमा १८ जित र ७ हारसहित ३६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
नेपालले रोहित पौडेल को कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने लगायत खेलाडी समावेश छन् । यस सिरिजका लागि ईशान पाण्डेलाई पनि टोलीमा अवसर दिइएको छ ।
अमेरिकी टोलीको कप्तानी मोनांक पटेल ले गर्नेछन् । टोलीमा एरन जोन्स, सौरभ नेत्रावलकर, हरमित सिंह लगायत खेलाडी रहेका छन् ।
यस सिरिज अन्तर्गत नेपालले मे १८ मा स्कटल्याण्डसँग तथा मे २२ मा पुनः अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE