‘आठ घण्टा काम, आठ घण्टा आराम’: आज १३७औँ श्रमिक दिवस

शुक्रबार १८ बैशाख २०८३
काठमाडौं / नेपालसहित विश्वभर आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित दिवस मनाइएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का अनुसार दिवसका अवसरमा देशभर श्रमिक, रोजगारदाता र सरोकारवालाको सहभागितामा कार्यक्रम आयोजना गरिएको छ।
सन् १८८६ को मजदुर आन्दोलनबाट सुरु भएको यो दिवस सन् १८९० देखि हरेक वर्ष मे १ मा मनाइँदै आएको छ। नेपालमा भने विसं २००७ को विराटनगर मजदुर आन्दोलन पछि यसको सुरुआत भएको हो।
कार्यक्रमहरूमा श्रमिकको वर्तमान अवस्था, न्यूनतम ज्याला, श्रम कानुन कार्यान्वयन तथा रोजगारी सिर्जनाबारे छलफल भइरहेको छ। सरकारले श्रम ऐन २०७४ कार्यान्वयनमा जोड दिएको जनाएको छ।
हाल न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ कायम गरिएको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोष मा आबद्ध गरिएको छ।
नेपालबाट ठूलो संख्यामा श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका छन्। सरकारले सुरक्षित, व्यवस्थित र मर्यादित श्रम वातावरण सुनिश्चित गर्न तथा स्वदेशमै रोजगारी सिर्जना गर्न नीति अघि बढाएको जनाएको छ।
श्रमिक दिवस श्रमिक अधिकार, सम्मान र सामाजिक न्यायको पक्षमा ऐक्यबद्धता जनाउने महत्वपूर्ण अवसरका रूपमा मनाइन्छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE