बाजुरामा १ हजार ८०६ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा, माघ २० — बाजुरा जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध १ हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यही माघ २७ गतेदेखि फागुन ३ गतेसम्म नियमित खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काका अनुसार जिल्लाभर कक्षा ६ मा अध्ययनरत १ हजार ७८१ किशोरी तथा विद्यालय बाहिर रहेका २५ किशोरीलाई एचपिभी खोप दिइनेछ। विद्यालय बाहिर रहेका किशोरीमध्ये बुढीगङ्गा नगरपालिकामा १६, बडीमालिका नगरपालिकामा ६ र त्रिवेणी नगरपालिकामा १ जना रहेका छन्।
गत वर्ष जिल्लामा अभियानका रूपमा ७ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइएको थियो। यस वर्ष भने नियमित खोप कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरीसँगै विद्यालय बाहिर रहेका किशोरीलाई समेत खोप दिइने व्यवस्था गरिएको छ।
जिल्लाका नौवटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ भने स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। खोप अभियान गौमुल गाउँपालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिकामा माघ २७ गते, स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका तथा बडिमालिका नगरपालिकामा माघ २८ गतेदेखि र हिमाली गाउँपालिकामा माघ २९ गतेदेखि सञ्चालन हुने छ।
स्वास्थ्य कार्यालयका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्त प्रभावकारी भएकाले यस अभियानलाई उच्च प्राथमिकता दिइएको हो। गत वर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE