२ वर्षपछि घरेलु मैदानमा नेपाल, टी-२० आई सिरिजमा आज यूएईसँग भिडन्त

सोमबार ७ बैशाख २०८३
काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आज (सोमबार) यूएईविरुद्ध टी-२० आई सिरिजको पहिलो खेल खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। नेपाल र यूएईबीच दुई खेलको टी-२० आई सिरिज आयोजना गरिएको हो।
यस सिरिजमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरी ले गर्नेछन्। नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० आई र एकदिवसीय (ओडीआई) का लागि फरक–फरक कप्तान नियुक्त गरेको छ।
यूएईविरुद्धको खेलका लागि नियमित कप्तान रोहित पौडेल सहित तीव्र गतिका बलर सोमपाल कामी र करण केसी टोलीमा समावेश छैनन्।
ऐतिहासिक महत्व
नेपालका लागि आजको खेल दुई कारणले विशेष मानिएको छ। पहिलो, नेपाली टोलीले दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। दोस्रो, स्तरोन्नति गरिएको त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटसहित पुरुष टोलीको पहिलो अन्तर्राष्ट्रिय खेल हुन लागेको हो।
हेड–टु–हेड
नेपाल र यूएईबीच अहिलेसम्म ११ पटक टी-२० आई खेल भइसकेका छन्। जसमा नेपालले ६ खेल जितेको छ भने यूएईले ५ खेल जितेको छ।
दुवै टोलीबीच पछिल्लोपटक सन् २०२५ अक्टोबरमा भएको त्रिदेशीय टी-२० आई सिरिजमा भेट भएको थियो। सो सिरिजको फाइनलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको थियो।
नेपाली टोली
दीपेन्द्र सिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE