फागुन ३ देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन

मङ्गलबार २७ माघ २०८२
काठमाडौं / निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रममार्फत निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र सही मतदान विधिबारे जानकारी दिइनेछ। यसका लागि देशभरका ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेवक परिचालन गरिने छ। विद्यालयस्तरमा कार्यक्रम सञ्चालन गरिनुका साथै सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत समेत मतदाता शिक्षा प्रचार–प्रसार गरिने आयोगको तयारी छ।
मतदाता शिक्षा कार्यक्रमका लागि बाल विकास सहजकर्ता, मातृ–शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक सेवा केन्द्रका परिचालकमध्येबाट स्वयंसेवक खटाइने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु हो। “यसले मतदाताको सहभागिता बढाउनुका साथै बदर मतको संख्या घटाउन सहयोग पुर्याउनेछ,” उहाँले भन्नुभयो।
आयोगको तथ्यांकअनुसार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा करिब ५ प्रतिशतभन्दा बढी मत बदर भएको थियो। यही अवस्थालाई ध्यानमा राख्दै आयोगले यसपटक बदर मत प्रतिशत घटाउने लक्ष्यसहित मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE