प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औँ वार्षिकोत्सव सम्पन्न
अवकाश प्राप्त निरीक्षक चौधरीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

बिहीबार २९ माघ २०८२
काठमाडौँ / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आफ्नो ७०औँ वार्षिकोत्सव विशेष समारोहका साथ मनाएको छ। महाराजगन्जस्थित प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी प्रशिक्षण क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै अवकाश प्राप्त प्रहरी निरीक्षक ठागा प्रसाद चौधरीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका छन्।
सोही अवसरमा तालिम कार्यलाई प्रभावकारी बनाई दक्ष जनशक्ति उत्पादनमा उत्कृष्ट ठहरिएको नेपाल प्रहरी शिक्षालय, भरतपुरलाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ्ग शिल्ड प्रदान गरिएको छ। उक्त पुरस्कार शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले ग्रहण गरिन्।
कार्यक्रममा आईजीपी कार्कीले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा–२०८२’ स्मारिकाको लोकार्पण गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठ तथा सहयोग पुर्याउने रूप्से स्पोर्ट्स म्यानेजमेन्टलाई पनि सम्मान गरेका छन्।
सम्बोधनका क्रममा आईजीपी कार्कीले नेपाल प्रहरीको आधारशीला नै अनुशासन र तालिम भएको उल्लेख गर्दै बदलिँदो सुरक्षा चुनौती तथा प्रविधिको विकासअनुसार तालिम प्रणालीलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनले सात दशकदेखि प्रतिष्ठानले गुणस्तरीय र अनुशासित जनशक्ति उत्पादन गर्दै संगठनको गरिमा अभिवृद्धि गरेको उल्लेख गर्दै अग्रजहरूको योगदानको स्मरण गरे।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले धन्यवाद ज्ञापन गर्दै संस्थाको व्यावसायिकता कायम राख्न प्रतिबद्ध रहेको बताए। निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
समारोहमा अवकाश प्राप्त उच्च प्रहरी अधिकारी, वरिष्ठ प्रहरी अधिकृत तथा विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE