संविधान संशोधन कार्यदल खारेज गर्न प्रभु साहको माग

काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधान संशोधनको नाममा वर्तमान सरकारले नाटक मञ्चन गरेको आरोप लगाउँदै संविधान संशोधन बहसपत्र तयारी कार्यदल तत्काल खारेज गर्न माग गरेका छन्।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै साहले संविधान संशोधनजस्तो गम्भीर विषयलाई सरकारले हल्का रूपमा लिएको टिप्पणी गरे। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले संविधानको मर्म नबुझेका व्यक्तिलाई जिम्मेवारी दिएर सुरुदेखि नै संशोधन प्रक्रियालाई विवादित बनाएको उनको आरोप छ।
साहले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल–२०८२’को वैधानिकतामाथि पनि प्रश्न उठाए। संसद्लाई बेवास्ता गर्दै सिंहदरबारबाट कार्यदल गठन गरेर सरकारले विधिको उल्लंघन गरेको उनको दाबी छ।
संविधान संशोधनका लागि गम्भीर राजनीतिक अनुभव र वैचारिक योगदान भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्नेमा फिल्म तथा भिडियो निर्देशनमा संलग्न व्यक्तिलाई जिम्मेवारी दिइएको भन्दै उनले सरकारको आलोचना गरे। असार मसान्तमा सकिने कार्यदलको म्याद नथप्न र तत्काल खारेज गर्न उनले आग्रह गरे।
साहले वर्तमान संविधान जारी हुँदा आफूले हस्ताक्षर नगरेको स्मरण गर्दै त्यसबेला नै संविधानले देशलाई सही दिशामा लैजान नसक्ने चेतावनी दिएको बताए। संविधानमा हस्ताक्षर नगरेका ६०१ संविधानसभा सदस्यमध्ये आफू एक्लो रहेको दाबी गर्दै त्यसका कारण पार्टीबाट कारबाहीसमेत भोग्नुपरेको उनले उल्लेख गरे।
उनले दुई वर्षअघि नै आजपाले ‘सिस्टम सुधार’का लागि तेस्रो जनआन्दोलनको आवश्यकता औंल्याएको भन्दै अहिलेको राजनीतिक परिवर्तनपछि पनि संविधानमा आवश्यक सुधार नगरी अवसर गुमाइएको आरोप लगाए।
साहले सरकारले संविधान संशोधनका लागि आन्दोलन र सुधारको पक्षमा रहेका शक्तिहरूसँग परामर्श नगरी संविधान निर्माण प्रक्रियामै विवादित भूमिका खेलेका पक्षहरूसँग मात्रै सुझाव संकलन गरिरहेको आरोप लगाए। उनले वर्तमान सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रिया संसद्मा सफल नहुने दाबीसमेत गरे।
यसका साथै उनले प्रदेश संरचना खारेज गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्तावेजमा समेटेको विषयप्रति पनि असहमति जनाउँदै वर्तमान सरकार विधि र प्रक्रियाभन्दा शक्ति प्रदर्शनमा केन्द्रित भएको आरोप लगाए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE