आज देशका धेरै स्थानमा वर्षाको सम्भावना, कोशी र बागमतीमा अति भारी वर्षाको चेतावनी

२९ असार २०८३
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई क्षेत्रनजिक रहेकाले वर्षा थप सक्रिय हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
आज कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ। रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुनी प्रणाली थप सक्रिय बन्दै गएको छ। उनका अनुसार धरान, चितवन लगायत पूर्वी क्षेत्रमा भारी वर्षा भइरहेको छ भने काठमाडौंको मध्य र उत्तरी क्षेत्रमा बिहानसम्म मध्यम वर्षा भएको छ। काठमाडौंमा साँझदेखि भोलिसम्म पुनः भारी वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्।
उप्रेतीका अनुसार कैलालीको चुरे क्षेत्रमा भएको वर्षाले पथरिया नदीको जलसतह बढेको छ भने लम्कीचुहा, कोहलपुर र दाङ क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसमविद्हरूले विशेषगरी देशको पूर्वी क्षेत्रमा आज र भोलि मनसुन सक्रिय रहने भएकाले बाढी, डुबान, पहिरो तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE