शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

क्यानडा र बोस्निया बराबरीमा, क्यानडाले विश्वकप इतिहासमै पहिलो अंक जोड्यो

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं, जेठ ३० । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
क्यानडाको टोरन्टो स्टेडियममा ४३ हजार २ दर्शकमाझ सम्पन्न खेलमा क्यानडाले पुरुष विश्वकप इतिहासमै पहिलो पटक अंक जोड्न सफल भएको हो। यसअघि सन् १९८६ र २०२२ को विश्वकपमा सहभागी भए पनि क्यानडाले कुनै खेलमा अंक हासिल गर्न सकेको थिएन।
खेलको २०औँ मिनेटमा बोस्नियाका स्ट्राइकर जोभो लुकिचले कर्नर किकबाट आएको बललाई हेडरमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको क्यानडाले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्‍यो।
खेलको ७५औँ मिनेटमा मैदान प्रवेश गरेका स्टार फरवार्ड काइल लारिनले दुई मिनेटमै उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा फर्काए। ७७औँ मिनेटमा प्रमिस डेभिडको पासलाई सदुपयोग गर्दै उनले गोल गरेपछि घरेलु समर्थकहरू उत्साहित बनेका थिए।
तथ्यांकअनुसार क्यानडाले ६० प्रतिशतभन्दा बढी बल नियन्त्रणमा राख्दै १३ सट प्रहार गरेको थियो भने ९ कर्नर प्राप्त गरेको थियो। बोस्नियाले ८ सट प्रहार गर्दा २० फाउल गरेको थियो।
क्यानडाका नियमित कप्तान अल्फोन्सो डेभिस खुट्टाको चोटका कारण खेलमा अनुपस्थित रहेपछि टोलीको कप्तानी स्टेफन युस्टाकियोले सम्हालेका थिए।
यस बराबरीसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अंक जोडेका छन्।
उता, विश्वकपको अर्को खेलमा आयोजक राष्ट्र अमेरिका र दक्षिण अमेरिकी टोली पाराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘डी’ अन्तर्गतको उक्त खेल क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुनेछ। क्रिस्टियन पुलिसिकको कप्तानीमा मैदान उत्रने अमेरिकी टोली घरेलु मैदानमा विजयी सुरुआत गर्ने लक्ष्यमा रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x