जेन–जी जनविद्रोहको मर्म र भावनाअनुसार आफू मैदानमा उत्रिएको ऋषि धमलाको घोषणा
कुलमान घिसिङलाई राजीनामा दिन सुझाव

बुधबार २३ पुस २०८२
काठमाडौ / रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देश निर्माणका लागि आफू मैदानमा उत्रिएको घोषणा गर्दै जेन–जी जनविद्रोहको मर्म र भावनाअनुसार अघि बढ्ने बताएका छन्। जेन–जी आन्दोलनको आलोकमा बनेको वर्तमान सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले आफू पहिलो जनआन्दोलनदेखि सक्रिय रहँदै २७ पटक गिरफ्तार र ३५ दिन हिरासतमा बसेको स्मरण गरे। लोकतन्त्र स्थापनामा आफूले महत्वपूर्ण भूमिका खेलेको उनको दाबी छ।
धमलाले सत्तामा पुगेपछि शासकहरू व्यक्तिगत स्वार्थ, नातावाद–कृपावादमा केन्द्रित हुँदा देश पछाडि परेको बताए। २०७२ सालको संविधान संकटमा परेको उल्लेख गर्दै त्यसको रक्षा गर्न जेन–जी पुस्ता अघि सर्नुपर्ने धारणा राखे। देशको आवश्यकता सबै शक्तिबीच सहकार्य भएको भन्दै कुनै पनि शक्तिलाई माइनस गरेर अघि बढ्न नसकिने उनको भनाइ छ। साथै वर्तमान सरकारले सुशासन दिन नसकेको आरोपसमेत लगाएका छन्।
वर्तमान सरकार दलीय नभएकाले कुलमान घिसिङले तत्काल राजीनामा दिनुपर्ने सुझाव दिँदै धमलाले कुलमान घिसिङ रास्वपाका उपसभापति भइसकेको अवस्थामा गैरदलीय सरकारमा बसेर काम गर्नु उपयुक्त नहुने बताए। उनले भने, “कुशल प्रशासक हुनुहुन्छ होला, तर दलमा आबद्ध छैन भन्न मिल्छ ?” उनका अनुसार सरकारको मुख्य दायित्व निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु हो। साथै युवालाई यही देशमा बस्ने र रोजगारी पाउने वातावरण बनाउनु आजको मुख्य चुनौती भएको भन्दै जनताले चाहे आफू राजनीतिमा आउने सम्भावना रहेको संकेत पनि उनले दिएका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE