भक्तपुर / राष्ट्रपति रामचन्द्र पौडेलले ‘नगरकोट भ्रमण वर्ष २०८२’ को उद्घाटन गरेका छन् ।नयाँ वर्ष २०८२ को शुभारम्भसँगै आज वैशाख १ गते नगरकोटको बतासे डाँडामा राष्ट्रपति पौडेलले भ्रमण वर्षको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपाललाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले न्युन आर्थिक बृद्धिको चक्रबाट नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतन्त्रको सुदृढिकरणसहित नेपाली जनताले चाहेको तीब्र बिकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताए । राष्ट्रपति पौडेलले पर्यटन ,कृषि,जलस्रोत,उर्जा,सूचना प्रबिधि,र उद्योगभन्दा मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यी क्षेत्रमा बिद्यमान समस्या हटाएर उपयुक्त नीति,कानुन र अवसरको सृजना गर्नु राज्यको दायित्व भएकोमा जोड दिए ।
उनले जनताको चाहना अनुसार शान्ति दिगो बिकास,समाबेशी समाज ,आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण सहित राष्ट्रनिर्माणको अभियानमा सबै जुट्नुपर्ने बताए । चर्चित पर्यटकीय गन्तब्य नगरकोट संस्कृति,प्रकृति,इतिहास र भूगोलको संगमस्थल भएको बताउदै पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको रुपमा स्थापित गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो ।
राष्ट्रपति पौडेलले बिकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र भएको बताउँदै स्थानीय पर्यटन क्षेत्रलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा जोडि आर्थिक समृद्धितर्फ लम्कनुपर्ने बताए ।उनले पर्यटकीय क्षेत्रलाई आर्थिक बिकासमा रुपान्तरण गर्न पूर्वाधारको बिकास गर्दै कौशल बढाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई आय आर्जन र रोजगारीको अवसर सृजना गर्न लगानी योग्य वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
पर्यटकीय उपजको ब्यबसायिकरण गरी यसबाट प्राप्त लाभको सामान्ययीकरण र सुनिश्चित गर्न औद्योगिकरणमा जोड दिनुपर्ने उनले बताए ।
कार्यक्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोट भ्रमण बर्षले मुलुककै पर्यटन क्षेत्रको समग्र बिकासलाई जगाउने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा संघीय सांसद गोकुल बास्कोटा,भ्रमण वर्ष मुल आयोजक समितिका संयोजक तथा मण्डन देवपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री,भ्रमण बर्षका बिज्ञ डा.घनश्याम खतिवडा लगायतले भ्रमण वर्षको क्रममा प्रत्येक नगरबासीलाई घर–घरबाट जागृत गराउने बताए ।
भक्तपुरको चाँगुनारायण नगरपालिकासहित काठमाडौं र काभ्रेपलान्चोकका विभिन्न चार नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’मा ११ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।
नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा आयोजित भ्रमण बर्षमा एक लाख आन्तरिक र १० लाख बाह्य गरी ११ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको जानकारी दिईयो ।
काठमाडौंको शंखरापुर नगरपालिका, काभ्रेको मण्डन देवपुर नगरपालिका र बनेपा नगरपालिकाको समेतको संयुक्त आयोजनामा सुरु भएको भ्रमण बर्षभित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत लक्ष्य आयोजकको छ ।source news of nepal
WRITE COMMENTS FOR THIS ARTICLE