शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

अब सातै प्रदेशबाट क्यान्सरका बिरामीले सेवा पाउने

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

sharethis sharing button

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गर्दै पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति बनाउने निर्णय गर्नुभएको थियो । सोही निर्णयअनुसार सबै प्रदेशमा क्यान्सरको विशेषज्ञ सेवा दिने उद्देश्यले मन्त्री पौडेलले क्यान्सर उपचार सेवा विस्तार गर्न कार्यविधि २०८१ पारित गरेसँगै क्यान्सरका बिरामीले सातै प्रदेशबाट उपचार पाउने भएका हुन् । क्यान्सर रोग नियन्त्रण गर्न मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० स्वीकृत गरिसक्नुभएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रदेशमा क्यान्सरको सेवा विस्तार गर्ने योजनासहित कार्यविधि स्वीकृत गरेको जानकारी दिनुभयो । विस्तारित सेवा बिहीबार विराटनगरबाट सुरु गर्न लागेको डा. बुढाथोकीको भनाइ छ ।  हाल बाग्मती र लुम्बिनी प्रदेशमा मात्रै सरकारी स्तरका क्यान्सर अस्पताल छन् । सीमित अस्पताल हुँदा क्यान्सरका बिरामी उपचारका लागि काठमाडौं, भक्तपुर, भरतपुर, जान बाध्य छन् । यसले गर्दा क्यान्सर अस्पतालमा बिरामीको चाप बढ्ने गरेको छ ।

रोगको निदान छिटो हुन्छ 

सरकारको यो निर्णय सराहनीय भएको क्यान्सर रोग विशेषज्ञ बताउनुहुन्छ । यो निर्णयसँगै दुर्गमका बिरामीले समयमा नै उपचार पाउन सहजीकरण हुने क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही बताउनुहुन्छ ।

उहाँ भन्नहुन्छ, “हरेक प्रदेशमा क्यान्सर अस्पताल विस्तार भएपछि त्यहाँका नागरिकले पायक पर्ने ठाउँबाट सेवा लिन सक्नेछन्, जसलेगर्दा रोगको निदान छिटो हुन मद्दत पुग्छ ।” रोगको उपचारका लागि बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा आउजाउ गर्ने आर्थिक भार कम हुने डा. शाही बताउनुहुन्छ ।

उहाँ भन्नुुहुन्छ, “यो विस्तारित सेवा सबै जिल्लामा लैजान सकेमा रोगको बारेमा जनचेतना फैलाउन सकिन्थ्यो ।  रोगको बारेमा जानकारी भएपछि रोग छिटो पत्ता लगाउन सहजीकरण हुन्छ ।”

यस्ता विस्तारित सेवाबाट समयमा रोग पत्ता लगाउन सकेमा बिरामीले सही समयमा उपचार पाउन सक्ने डा. शाहीको तर्क छ । उक्त केन्द्रमा उपचारमा मात्र केन्द्रित नभएर क्यान्सरको रोकथाम र लक्षण देखिनुभन्दा पहिले चेकजाँचमा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।

विस्तारित सेवा कहाँबाट लिने ?

डा. बुढाथाकीका अनुसार भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विस्तारित सेवा दिने निर्णय मन्त्रालयको छ ।

प्रवक्ता डा. बुढाथोकीका अनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगर, मघेश प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा सेवा विस्तार गर्ने सहमति भएको छ । त्यसैगरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पतालले धनगढी, पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान कास्कीबाट सेवा दिनेगरी कार्यविधि तयार भएको छ ।

सेवाग्राहीले कसरी सेवा पाउँछन् ?

विस्तारित सेवाबाट सेवाग्राहीले सङ्घीय अस्पतालमा विशेषज्ञ चिकित्सकले विशेष  क्लिनिक सञ्चालन गर्ने डा. बुढाथोकीको भनाइ छ । सोही क्लिनिकमा क्यान्सरको शङ्का लागेका बिरामीको रोग निदान गर्ने, उपचार गराएका बिरामीको सोही ठाउँबाट फलोअप सेवा लिन सकिने र उपचारको पालो सोही ठाउँबाट मिलाउन सकिने डा. बुढाथोकी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “फलोअप गर्नुपर्ने क्यान्सरका बिरामी त्यहीँबाट सेवा दिने व्यवस्था छ । त्यसका साथै क्यान्सरको शङ्कास्पद बिरामीको रोग निदान, थप उपचार आवश्यक पर्ने बिरामीलाई त्यहीँबाट उपचारको पालो मिलाइदिने र रोगको बारेमा परामर्श दिने गरिन्छ ।” यो सेवा कार्यान्वयनमा आइसकेपछि सङ्घीय अस्पतालमा बिरामीको चाप घट्ने डा. बुढाथोकीको अनुमान  छ ।

यसले क्यान्सरका बिरामीले काठमाडौं आउनुपर्ने अवस्थाको न्यूनीकरण हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “उपचारमा रहेका बिरामीको औषधी थप्नुपरेमा औषधीको डोज घटबढ् त्यहीँबाट गर्न सकिन्छ । जसले गर्दा सङ्घीय क्यान्सर अस्पतालमा बिरामीको भार कम हुन्छ ।”

बढ्दै क्यान्सर रोगको भार 

नसर्ने रोगको भार विश्वभर बढ्दै गइरहको छ । विश्वमा हुने कुल मृत्युमध्ये क्यान्सरको कारण हुने मृत्यु दोस्रो स्थानमा छ । सन् २०२२ मा विश्वभर करिब दुई करोड क्यान्सरका नयाँ बिरामी देखापरेका थिए भने क्यान्सरका कारण ९७ लाखभन्दा बढीले ज्यान गुमाएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एसियाली क्षेत्र क्यान्सरका नयाँ बिरामीको भारका आधारमा चौथो उच्च बिरामी भएको क्षेत्रमा पर्दछ भने क्यान्सरको कारण हुने मृत्युका आधारमा तेस्रो उच्च मृत्यु हुने क्षेत्रमा पर्दछ ।

विश्वव्यापीकरणसँगै तीव्र रुपमा परिवर्तन हुँदै गएको जीवनशैली (खानपान र रहनसहन) ले क्यान्सरका जोखिमका कारक तत्वहरु बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही बताउनुहुन्छ । नेपाललगायत विभिन्न देशमा भएका सर्वेक्षणहरुले खानपान र जीवनशैलीमा भएको परिवर्तनका साथै शारीरिक क्रियाकलापमा आएको कमीले क्यान्सरजस्ता नसर्ने रोगको भार बढ्दै गएको छ ।

 १३ प्रतिशतले बढे क्यान्सरका बिरामी 

नेपालमा पनि नसर्ने रोगको भार बढ्दै गइरहेको छ । डा. शाहीका अनुसार नेपालमा सबैभन्दा बढी फोक्सो, स्तन, पाठेघरको क्यान्सर देखिने गर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरु १३ प्रतिशतले वृद्धि भएका छन् । नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी हिस्सा ७१ प्रतिशत नसर्ने रोगको कारणले हुने मन्त्रालयले जनाएको छ । जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको छ । नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार नयाँ बिरामी  देखापरेका थिए भने १४ हजारभन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए । गोरखापत्रबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x