आज २१३औँ भानु जयन्ती, देश–विदेशमा विविध कार्यक्रम

काठमाडौं । नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न साहित्यिक, सांस्कृतिक तथा स्मरण कार्यक्रमका साथ मनाइँदैछ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले नेपाली भाषालाई सरल, सहज र जनमानससम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए। एक सामान्य घाँसीबाट प्रेरणा पाएपछि उनले साहित्य सिर्जनामा लागेका थिए।
भानुभक्तले संस्कृत भाषामा रहेको अयोध्याका राजा रामको जीवनमा आधारित रामायणलाई सरल नेपाली भाषामा भावानुवाद गरेका थिए। उनले रचना गरेको ‘रामायण’ आज पनि नेपाली समाजमा श्रद्धापूर्वक पाठ गरिने कृतिका रूपमा परिचित छ।
उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका कृतिहरू नेपाली साहित्यका अमूल्य सम्पदा मानिन्छन्। यी रचनाले नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकतालाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन्।
भानु जयन्तीका अवसरमा आज देशभर प्रभातफेरी, आदिकविको प्रतिमामा माल्यार्पण, साहित्यिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठान, भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् लगायत विभिन्न संस्थाले विशेष कार्यक्रम सञ्चालन गरिरहेका छन्।
नेपालमा मात्र होइन, भारतका दार्जिलिङ, सिक्किम, असम, साथै भुटान, म्यानमार (बर्मा) र विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले पनि भानु जयन्ती उत्साहपूर्वक मनाउँदै आदिकवि भानुभक्त आचार्यप्रति सम्मान व्यक्त गरिरहेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE