ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

आइतबार २२ चैत २०८२
काठमाडौं। जेन–जी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका केपी शर्मा ओली र रमेश लेखक सम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।
अदालतले यसअघि सरकारसँग पक्राउको कारणबारे लिखित जवाफ मागेकोमा उक्त जवाफ प्राप्त भइसकेको छ। त्यसैले आजको सुनुवाइमै मुद्दाको फैसला आउन सक्ने सम्भावना रहेको छ।
जेन–जी आन्दोलनका बेला दुवै नेता सरकारमा उच्च पदमा रहेका थिए। सो आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको आयोगले उनीहरूमाथि फौजदारी कारबाही गर्न सिफारिस गरेपछि चैत १४ गते पक्राउ गरिएको थियो।
तर, पक्राउ प्रक्रिया गैरकानूनी रहेको दाबी गर्दै दुवै नेताले चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन्। उनीहरूको पक्षले कानुनी आधारबिना ‘जरुरी पक्राउ पुर्जी’ प्रयोग गरिएको र भाग्ने वा प्रमाण नष्ट गर्ने अवस्था नरहेको तर्क प्रस्तुत गरेको छ।
सुनुवाइका क्रममा अदालतले सरकारसँग ‘जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने पूर्वअवस्था के थियो?’ भन्ने प्रश्नसमेत सोधेको थियो। सरकारका तर्फबाट भने उनीहरू पूर्व प्रधानमन्त्री वा पूर्व गृहमन्त्री भएकै कारण तत्काल रिहा गर्न नमिल्ने जवाफ दिइएको छ।
हाल केपी शर्मा ओली उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा छन् भने रमेश लेखक लाई महाराजगञ्जस्थित प्रहरी गणमा राखेर अनुसन्धान भइरहेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE