शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

युवा विरोधी नीति र जरिवाना आतंक बन्द गर्न कमन जेन–जी नेपालको सरकारलाई अल्टिमेटम

Spread the love

 

काठमाडौं, २७ असार ।
‘कमन जेन–जी नेपाल’ ले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) सरकारका गतिविधिहरू जनविरोधी र निरंकुश बन्दै गएको आरोप लगाउँदै तत्काल आफ्ना क्रियाकलाप नसच्याए देशव्यापी सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

कमन जेन–जी नेपालले आज (शनिबार) प्रेस विज्ञप्ति जारी गर्दै सरकारको १०० दिने कार्यकालको समीक्षा र हालै घटेका घटनाहरूमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गणेश नेपालीको ‘आत्मदाह’ र गृहमन्त्रीको अभिव्यक्तिप्रति आक्रोश
यातायात व्यवस्था र ट्राफिक प्रहरीको ज्यादतीका कारण भारी जरिवाना तिर्न नसक्दा र सवारी साधन खोसिएपछि मुगुका युवा गणेश नेपालीले गरेको आत्मदाहको घटनाप्रति कमन जेन–जी नेपालले गम्भीर दुःख व्यक्त गरेको छ ।

यस विषयमा संसदमा गृहमन्त्रीले दिएको ‘स्थानीय सरकार दलहरूको अधिपत्यमा रहेको र यसमा संघीय सरकारको कुनै दोष नरहेको’ भन्ने अभिव्यक्तिलाई कमन जेन–जी नेपालले गैरजिम्मेवारपूर्ण ठहर गरेको छ ।

कमन जेन–जी नेपालका अध्यक्ष विकेश साह, महासचिव रोनिश साह र इन्चार्ज कृष्ण मोहन सहनीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा मुगुका मृतक युवा गणेश नेपालीलाई उचित सम्मान प्रदान गर्न, उनको परिवारको भरणपोषणको योजना घोषणा गर्न र घटनाका दोषीहरूमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

सरकारले समयमै आफ्ना क्रियाकलाप सच्याएर नागरिकमैत्री शासन चलाउन आह्वान गर्दै यदि आफ्ना गतिविधि नसच्याए सरकारका विरुद्धमा सडक आन्दोलनका लागि तयार रहन संगठनले आम जेन–जी युवा लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपील गरेको छ ।

काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख (हालका प्रधानमन्त्री) वालेन शाहकै पालादेखि महानगरमा प्रहरीको ज्यादती र उदण्डताको बीजारोपण भएको र अहिले त्यसैको अंकुरित रूप प्रकट भएको विज्ञप्तिमा दाबी गरिएको छ ।

सरकारको १०० दिनः आतंक र कुशासनको पराकाष्ठा
विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले १०० दिन पार गरिसक्दा पनि जनताको पक्षमा कुनै ठोस कार्य गर्न नसकेको उल्लेख छ । उल्टो सुकुम्बासीहरूमाथि डोजर आतंक मच्चाएर घरबारविहीन बनाउने, राज्य संयन्त्रको दुरुपयोग गरी सार्वजनिक निकायका निर्दोष पदाधिकारीहरूलाई बर्खास्त गर्ने र सरकारी कर्मचारीहरूलाई धम्क्याएर अनिच्छित कार्य गर्न बाध्य पार्ने काम भइरहेको कमन जेन–जी नेपालले आरोप लगाएको छ ।

त्यस्तै, बजेट तथा नीति कार्यक्रममा युवाहरूको रोजगारी र आयआर्जनका लागि कुनै ठोस कार्यक्रम नल्याइएको र सवारी चालकहरूका लागि १ लाख रुपैयाँसम्मको भारी जरिवाना तोकेर नागरिकको हिँडडुल गर्ने स्वतन्त्रतामाथि बन्देज लगाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीमाथि संसदको अपहेलना गरेको आरोप
कमन जेन–जी नेपालले प्रधानमन्त्री वालेन स्वयंले ‘भारतको भूमि पनि नेपालले मिचेको छ’ भन्ने जस्ता राष्ट्रिय अखण्डता र सिमाना विपरीतका विवादित अभिव्यक्ति दिएको र यसबारे संसदमा जवाफ नदिई संसदकै अपहेलना गरेको आरोप लगाएको छ । बहालावाला तथा सेवानिवृत्त पदाधिकारीहरूको सम्पत्ति विवरण बुझाउने र छानबिन गर्ने संवैधानिक अधिकारलाई निष्क्रिय बनाउने खेल भइरहेकोप्रति पनि संगठनले आपत्ति जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x