विशाल राई बने दोस्रो कञ्चनजङ्घा साहसिक म्याराथनका विजेता

सोमबार १८ जेठ २०८३
फुङलिङ । दोस्रो कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले जित्नुभएको छ। दोस्रो सिरिजङ्घा पर्यटन महोत्सवको अवसरमा आयोजित खुला साहसिक म्याराथनमा राईले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्नुभएको हो।
प्रतियोगितामा सहभागी २४ प्रतिस्पर्धीलाई पछि पार्दै राईले ४२ किलोमिटर दूरी ५ घण्टा ३० मिनेट ८ सेकेन्डमा पूरा गर्नुभयो। म्याराथन सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको छुमादिनबाट सुरु भई ४ हजार २०० मिटर उचाइमा रहेको दुण्डु डाँडा पुगेर पुनः छुमादिन फर्किने मार्गमा सञ्चालन गरिएको थियो।
ताप्लेजुङको पेदाङका विभिषण लिम्बूले ५ घण्टा ३१ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गर्नुभयो। त्यस्तै, पाँचथरका प्रताप थाम्सुहाङले ५ घण्टा ४१ मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान प्राप्त गर्नुभएको प्रतियोगिता संयोजक अमिर राईले जानकारी दिनुभयो।
विजेता विशाल राईले १९६ तोला चाँदीजडित रनिङ ट्रफीसहित नगद १ लाख ८ हजार ५८६ रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो। दोस्रो स्थान हासिल गरेका लिम्बूले ५८ हजार ५८६ रुपैयाँ तथा तेस्रो स्थानमा रहेका थाम्सुहाङले २८ हजार ५८६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ।
यसअघि आयोजित पहिलो कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बूका अर्जुन कुलुङ राईले जित्नुभएको थियो।
सिरिजङ्घा गाउँपालिकाको आर्थिक सहयोग तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा सञ्चालन भएको तीनदिने दोस्रो सिरिजङ्घा पर्यटन महोत्सव जेठ १५ गतेदेखि सुरु भई जेठ १७ गते सम्पन्न भएको क्लबका सचिव नरेश गुरुङले जानकारी दिनुभयो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE