‘हामी बालेनको पुलिस होइनौं’ भनेपछि विवादमा परेका डीएसपी चौधरी छानबिनका लागि जिल्ला तानिए
प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबारे सार्वजनिक टिप्पणी गरेपछि प्रहरी संगठनले सुरु गर्यो अनुशासन छानबिन

कैलाली, २५ असार २०८३ । कैलालीको इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी सार्वजनिक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिका कारण छानबिनको दायरामा परेका छन् ।
घोडाघोडी नगरपालिका-५ दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर दिएको राजनीतिक अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई सोधपुछका लागि सदरमुकाम झिकाएको हो ।
के भनेका थिए डीएसपीले?
उक्त कार्यक्रममा बोल्दै डीएसपी चौधरीले आफूहरू कसैको प्रभावमा नरहेको दाबी गर्दै `हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हौं` भनेका थिए । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने प्रहरी भएको उनको भनाइ थियो ।
उनले थप अगाडि बढ्दै `केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो` भन्ने जस्ता गम्भीर राजनीतिक टिप्पणी समेत गरेका थिए ।
बर्दीधारी प्रहरी अधिकृतले देशको बहालवाला प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेताबारे सार्वजनिक रूपमा टिप्पणी गरेपछि संगठनभित्र र बाहिर तीव्र आलोचना भइरहेको छ ।
सोही कार्यक्रममा उनले आफूहरू भोट हालेर, टीका लगाएर वा दारु-भात खाएर पदमा आएको नभई कडा प्रतिस्पर्धाबाट छनोट भएर आएको भन्दै जनप्रतिनिधिप्रति व्यङ्ग्य पनि गरेका थिए ।
नेपाल प्रहरीले लगाएको बर्दी राष्ट्रपतिले समेत लगाउन नपाउने भन्दै उनले भनाइ मन परे ताली बजाउन विद्यार्थीहरूलाई आग्रह गरेका थिए । उनले भिडियो रेकर्ड नगर्न र सार्वजनिक नगर्न आग्रह गरे पनि उक्त क्लिप बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले यसलाई गम्भीर अनुशासन उल्लंघनको रूपमा लिएको छ ।
विगतका उजुरी पनि छानबिनमा
प्रहरी स्रोतका अनुसार यो पछिल्लो अभिव्यक्ति मात्र नभई उनको कार्यशैली, अनुशासन र विगतका गतिविधिहरूका बारेमा स्थानीय तहदेखि केन्द्रसम्म परेका विभिन्न उजुरीका आधारमा पनि छानबिन सुरु गरिएको हो ।
यसअघि पनि संगठनको नीति-निर्देशन पालना नगरेको विषयमा उनीसँग स्पष्टीकरण सोधिएको थियो । आफैं बजारमा पुगेर व्यापारीका सामान जफत गर्ने र पछि बिना कानुनी प्रक्रिया फिर्ता गरेको आरोप पनि उनीमाथि छ ।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनको कार्यशैली र अभिव्यक्तिका विषयमा प्राप्त सबै गुनासाहरूलाई एकमुष्ट रूपमा हेरिरहेको छ ।
प्रहरी नेतृत्वले यो सामान्य सोधपुछ मात्र नभई चेन अफ कमान्ड र संगठनको आचारसंहिता उल्लंघनको गम्भीर पाटो भएकाले विस्तृत अनुसन्धान गरेर माथिल्लो निकायमा प्रतिवेदन पठाउने तयारी गरेको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE