सिन्धुपाल्चोक–१ बाट रास्वपाका भरत प्रसाद पराजुली भारी मतान्तरले निर्वाचित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरत प्रसाद पराजुली निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का माधव सापकोटालाई ७ हजार ८५ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार पराजुलीले २४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् भने सापकोटाले १७ हजार ३ सय २७ मत पाएका छन्। त्यस्तै नेकपा (एमाले)का उम्मेदवार सरेश नेपालले ११ हजार ९ सय ६१ मत ल्याउँदा नेपाली कांग्रेसका जंगबहादुर लामाले ११ हजार २ सय ६१ मत प्राप्त गरेका छन्।
निर्वाचित पराजुली ऊर्जा क्षेत्रसँग लामो समयदेखि जोडिएका व्यवसायी तथा लगानीकर्ताका रूपमा परिचित छन्। उनी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्। १९ भदौ २०२५ मा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्।
पराजुली करिब दुई दशकभन्दा बढी समयदेखि जलविद्युत् क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजनामा संलग्न रहँदै आएका छन्। ऊर्जा क्षेत्रका परियोजनामा लगानी तथा व्यवस्थापनको अनुभव भएका उनले नेपालभर ६५ भन्दा बढी जलविद्युत् आयोजनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गरेको उल्लेख गरिएको छ।
हाल पराजुली जुगल गाउँपालिकामा निर्माणाधीन ब्रह्मायणी खोला जलविद्युत् आयोजनामा प्रमुख प्रवर्द्धक तथा अध्यक्षका रूपमा संलग्न छन्। उक्त आयोजनामा उनको लगानीसमेत रहेको बताइएको छ।
निजी क्षेत्रको अनुभवलाई राजनीतिसँग जोड्दै उनले ऊर्जा विकास, स्थानीय रोजगारी सिर्जना, पूर्वाधार विस्तार र दिगो आर्थिक विकासलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्। संसदीय अनुभव नभए पनि व्यवसायिक नेतृत्व, व्यवस्थापन क्षमता तथा ऊर्जा क्षेत्रको अनुभवका कारण उनी नयाँ अनुहारका रूपमा मतदातामाझ चर्चामा आएका थिए।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट माओवादी केन्द्रका माधव सापकोटा ३० हजार ४०८ मत ल्याएर निर्वाचित भएका थिए। त्यतिबेला एमालेका सरेश नेपाल २७ हजार ६६ मतसहित दोस्रो भएका थिए भने रास्वपाका उम्मेदवार दिनेश श्रेष्ठ ३ हजार ५०३ मतमा सीमित भएका थिए।
यसपटक भने नयाँ अनुहारका रूपमा मैदानमा उत्रिएका पराजुलीले विकास, सुशासन र परिणाममुखी राजनीतिलाई मुख्य एजेन्डा बनाउँदै सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा विजय हासिल गरेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE