आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

बालेनको १०० दिनबारे आजपा : अधिकांश क्षेत्रमा असफल

Spread the love

 

आम जनता पार्टी (आजपा) ले वर्तमान सरकार १०० दिनको अवधिमा अधिकांश क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ ।

बालेन नेतृत्वको सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै आजपाले सुशासन, सामाजिक न्याय, राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रलगायतका अधिकांश क्षेत्रमा सरकार असफल भएको निष्कर्ष निकालेको हो ।

आजपाले सार्वजनिक गरेको ‘सरकारको समीक्षा’ दस्तावेजमा सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, सेवा प्रवाह, सामाजिक न्याय र आर्थिक सुधारका क्षेत्रमा अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख छ ।

सुशासन र सदाचारतर्फ सरकारले जेनेजी आन्दोलनका पीडितलाई राहत र दोषीलाई कारबाही गर्ने विषय ओझेलमा पारेको, सम्पत्ति छानबिनमा पक्षपात गरेको, महँगी नियन्त्रण गर्न नसकेको तथा मन्त्रालयहरूमा सल्लाहकार र स्वकीय सचिवालय विस्तार गरेर फजुल खर्च बढाएको भनिएको छ ।

संविधान संशोधनको विषय कर्मकाण्डमै सीमित भएको, प्रशासनिक सुधार र सेवा प्रवाह फितलो रहेको तथा सार्वजनिक पदाधिकारी नियुक्तिमा अध्यादेश निष्क्रिय बनाएर आफ्ना निकट व्यक्तिलाई नियुक्त गरिएको भनिएको छ ।

सामाजिक न्यायको क्षेत्रमा सरकारले सुकुम्बासी व्यवस्थापनमा असफल भएको, दलित समुदायसँग गरिएका प्रतिबद्धता कार्यान्वयन नगरेको, सीमान्तकृत समुदायमाथि विभेद कायम राखेको तथा शिक्षा र स्वास्थ्यमा कर लगाएर नागरिकको मौलिक हकमाथि प्रहार गरेको आजपाको ठहर छ ।

राष्ट्रियताको सवालमा सरकारी उच्च पदमा विदेशीलाई प्रवेश गराइएको, विदेशीलाई वंशजको नागरिकता दिने प्रक्रिया अघि बढाइएको, नेपाली पूँजी विदेश लैजाने नीति सुरु गरिएको तथा भारतसँगको सीमा विवादमा सरकारका अभिव्यक्तिले नेपालको दाबी कमजोर बनाएको आजपाले जनाएको छ ।

नेपाली डाटा विदेशीलाई दिने नीति र नेतृत्वको संवादहीनताका कारण नेपाल अन्तर्राष्ट्रिय कूटनीतिमा एक्लिएको दाबी पनि दस्तावेजमा गरिएको छ।

लोकतन्त्रका सन्दर्भमा लोकतान्त्रिक मूल्य–मान्यतामा ह्रास आएको, कानुनी शासनको सट्टा मनपरी शासनको अभ्यास भएको, संसद्को भूमिका कमजोर बनाइएको तथा पारदर्शी र जनउत्तरदायी शासनको सट्टा अदृश्य समूहबाट शासन सञ्चालन भएको भनिएको छ ।

अर्थतन्त्र र बजेटतर्फ सरकारले दलाल वर्गलाई संरक्षण गरेको, कर र ऋणको भार बढाएको, रुग्ण उद्योग सञ्चालनभन्दा बिक्री गर्ने नीति अघि सारेको, राजस्व संकलन र पुँजीगत खर्च दुवैमा कमजोर प्रदर्शन गरेको तथा रोजगारी सिर्जना, वैदेशिक लगानी र बजार चलायमान बनाउन असफल भएको आजपाको निष्कर्ष छ।

आजपाले पुँजीगत बजेट खर्च न्यून रहेको, नयाँ विकास पूर्वाधार आयोजनाको अभाव रहेको, गरिब, बेरोजगार र किसानका समस्या बेवास्ता गरिएको, योजना छनोटमा पक्षपात भएको तथा बजेटमा मनपरी रूपमा बजेट बाँडफाँट गरिएको आरोप पनि लगाएको छ ।

सरकारको समग्र कार्यसम्पादनबारे आजपाले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय, राष्ट्रिय हित, लोकतान्त्रिक अभ्यास र आर्थिक व्यवस्थापनका क्षेत्रमा अपेक्षित परिणाम दिन नसकेको निष्कर्ष सार्वजनिक गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x