आज विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं, चैत १० — ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
हरेक वर्ष मार्च २४ तारिखमा मनाइने यस दिवसको उद्देश्य क्षयरोग नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउनु हो। सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का अनुसार राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठन का अनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। हाल देशभर ६,२४१ स्वास्थ्य संस्थामा यसको उपचार उपलब्ध छ भने ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा प्रदान भइरहेको छ।
मन्त्रालयका अनुसार औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन् भने १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ।
लक्षण र सचेतना
विशेषज्ञहरूका अनुसार तीन हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, खकारमा रगत देखिनु, श्वासप्रश्वासमा समस्या, तौल घट्नु, अत्यधिक पसिना आउनु र थकान महसुस हुनु क्षयरोगका प्रमुख लक्षण हुन्। यस्ता लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
कमजोर रोगप्रतिरोध क्षमता भएका, धूमपान वा मद्यपान गर्ने तथा लागुऔषध सेवन गर्ने व्यक्तिमा यस रोगको जोखिम बढी हुने बताइएको छ। समयमै परीक्षण र नियमित औषधि सेवनबाट क्षयरोग पूर्ण रूपमा निको हुन सक्ने चिकित्सकहरूको भनाइ छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE