शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सरकारी अस्पतालका उपकरणको राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने सहमति

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

बुधबार ५ भदौ २०८१
काठमाडौ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकार मातहतका १७ वटा अस्पतालमा रहेका उपकरणको मर्मतसम्भार र व्यवस्थापन लगायतमा सहकार्य गर्ने सम्झौता भएको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोतसाधनबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सम्झौता गरिएको बताए।

अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिए नयाँ खरीद गर्दा लाग्ने ठूलो खर्च जोगिने उनको भनाइ छ। “साधनस्रोत बढाएर तत्काल आवश्यकता अनुसारका उपकरण खरीद गर्न सक्ने अवस्था छैन, त्यसकारण अहिले भएका उपकरणलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने सन्दर्भमा गरिएको सम्झौता महत्त्वपूर्ण प्रयास रहेको छ,” पौडेलले भने।

अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिए। “यो जिम्मेवारी भनेको संघीय सरकार अन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मर्मत गर्ने तथा ती उपकरणको अवस्था के-कस्तो छ भनी यकीन गर्ने हो,” उनले भने।

अस्पतालमा रहेका उपकरण के-कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी यकीन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ। मर्मत गर्न सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ।

“स्वास्थ्य मन्त्रालयले आविष्कार केन्द्रलाई ठूलो जिम्मेवारी दिएको छ,” अध्यक्ष पुनले भने, “हामीले पाएको जिम्मेवारी नागरिकको स्वास्थ्यसँग सम्बन्धित छ। उपकरणलाई ठीक अवस्थामा राख्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ। लाखौं नागरिकले यसको सेवा लिन सक्छन्। त्यसैले यो सानोतिनो जिम्मेवारी होइन।”

सम्झौता अनुसार आविष्कार केन्द्रका प्रतिनिधि सबै अस्पतालमा गएर त्यहाँ प्रयोग नभएका र सूचीकृत भएका सामानको पहिचान गरी सोही अनुरूपको प्रतिवेदन दिनेछन्। आफैं बनाउन के-कति मूल्य र पार्टपुर्जा चाहिन्छ, त्यसको अभिलेख तयार गरिनेछ।

सम्झौतापत्र कार्यान्वयन भएसँगै करोडौं मूल्य पर्ने तर सामान्य मर्मत नगरिंदा स्वास्थ्य क्षेत्रमा प्रयोगमा नआएका उपकरण प्रयोगमा आउने, सामान्य मर्मतपछि ती उपकरण सञ्चालनमा आउँदा नयाँ खरीद गर्नुनपर्ने तथा स्वदेशी जनशक्ति, स्रोत र साधन प्रयोग हुने विश्वास लिइएको छ।
स्रोत: हिमालखबर

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x