मौलापुरका प्रमुख प्रशासकीय अधिकृत २ महिनादेखि बेपत्ता, विकास निर्माण प्रभावित
१६ चैतमा खटिएका उपसचिव सुरेशबाबु घिमिरे १५ दिन मात्र कार्यालयमा हाजिर, मेयरद्वारा स्पष्टीकरण सोधियो

रौतहट, २७ जेठ ।
विकास निर्माणको कामले तीव्रता पाउनुपर्ने समयमा रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नै २ महिनादेखि बेपत्ता भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १६ चैतमा मौलापुर नगरपालिकामा खटाएका उपसचिव सुरेशबाबु घिमिरे अहिलेसम्म जम्मा १५ दिन मात्र कार्यालयमा उपस्थित भएका छन् । कार्यालयमा हाजिर भएर तोकिएको जिम्मेवारी पूरा गर्नुको साटो उनी जिल्ला बाहिर बसेको आरोप लागेको छ ।
प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले नगरपालिकाको बजेट कार्यान्वयनसहितका काममा गम्भीर असर परेको छ । निःशुल्क बिजुली, निःशुल्क पानी, छोरीसँग मेयर कार्यक्रम जस्ता लोकप्रिय योजनाको भुक्तानीसमेत रोकिएको स्थानीय जनप्रतिनिधिको गुनासो छ ।
यस विषयमा स्थानीय सुरेन्द्र कुशवाहाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बजेट कार्यान्वयनको निर्णायक समयमा प्रमुख प्रशासकीय अधिकृत यसरी गायब हुनु सुशासन हो कि अत्याचार? लापरबाही गर्ने कर्मचारीलाई तुरुन्त कारबाही गरियोस्।’
प्रशासकीय अधिकृत घिमिरेको अनुपस्थितिपछि मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले २५ जेठमा ३ दिने स्पष्टीकरण सोधेकी छन् । स्पष्टीकरणमा नगरसभाबाट स्वीकृत नगर गौरवका योजनाहरु कार्यान्वयनमा तत्परता नदेखाएको र लामो समय विदा स्वीकृत नगराई अनुपस्थित रहेको उल्लेख छ । स्पष्टीकरणको बोधार्थ सामान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय गौरलाई दिइएको छ ।
त्यसअघि ११ जेठमा मेयर साहले सहजीकरण गरिदिन भन्दै सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेकी थिइन् । तर मन्त्रालयबाट कुनै पहल नभएको मेयर साहको भनाइ छ ।
स्थानीय जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृतले ‘माथिको आदेश’ भन्दै जनमुखी कार्यक्रमको भुक्तानी रोक्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । संघीय सरकारले गैरकानूनी हस्तक्षेप गरेको भन्दै मेयर साहले आपत्ति जनाएकी छन् ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE