फ्लाई दुबईलाई पोखरा–दुबई दैनिक उडानको अनुमति

गण्डकी, जेठ २७ । संयुक्त अरब इमिरेट्सको निजी वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई रुटमा दैनिक सिधा उडान सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको उडान तालिका स्वीकृत भइसकेको छ र निर्धारित मितिदेखि नियमित सेवा सञ्चालन हुनेछ।
उडान अनुमति प्राप्त गर्नुअघि फ्लाई दुबईको प्राविधिक टोलीले विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन अवस्थाको विस्तृत निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न पहल गर्ने घोषणा गरेपछि यो उपलब्धि हासिल भएको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको उडान स्वीकृतिसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको मार्ग खुलेको बताउनुभयो। उहाँका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायत विश्वका सयौँ सहरसँग पोखराको पहुँच विस्तार हुनेछ।
हालसम्म पोखराबाट केही चार्टर उडानबाहेक नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन। करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि मुख्य रूपमा आन्तरिक उडानमै सीमित रहँदै आएको छ।
यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सञ्चालन गरे पनि उक्त सेवा लामो समय टिक्न सकेन र गत मार्च २३ देखि बन्द भएको थियो।
पर्यटन व्यवसायीहरूले फ्लाई दुबईको नियमित उडानले पोखराको पर्यटन, व्यापार, लगानी र रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, काठमाडौँ केन्द्रित हवाई चाप कम गर्दै पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न यो उडान कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE