पाँच दिनदेखि बेपत्ता दावा शेर्पा जीवितै उद्धार

काठमाडौं, जेठ २१ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका सहयोगी आरोही दावा शेर्पा जीवितै फेला परेका छन्। जेठ १६ गतेदेखि सम्पर्कविहीन रहेका शेर्पाको सगरमाथा आधार शिविर नजिकैको ‘क्र्याम्पोन पोइन्ट’ क्षेत्रमा उद्धार गरिएको हो।
पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कर्मचारीहरूले खोजीका क्रममा शेर्पालाई जीवित अवस्थामा फेला पारेका थिए। अत्यन्त कमजोर अवस्थामा रहेका उनलाई कर्मचारीहरूले बोकेर गोरकशेपसम्म पुर्याएका थिए।
त्यसपछि अल्टिच्युड एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका शेर्पाको हाल ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकको निगरानीमा रहेका उनको स्वास्थ्य अवस्थाबारे थप मूल्यांकन भइरहेको जनाइएको छ।
पर्यटन विभागले खोज तथा उद्धार अभियानमा सहयोग गर्ने सम्बन्धित एजेन्सी, सरोकारवाला निकाय तथा उद्धारकर्मीहरूलाई धन्यवाद दिएको छ। साथै विभागले शेर्पाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
ओखलढुङ्गाका दावा शेर्पा ‘एट के इन्टरनेशनल एभरेष्ट एक्सपिडिसन स्प्रिङ टिम ए’ अन्तर्गत सहयोगी कामदारका रूपमा सगरमाथा आरोहण अभियानमा संलग्न थिए। उच्च हिमाली क्षेत्रमा पाँच दिनसम्म बेपत्ता रहेका व्यक्तिको जीवित उद्धार हुनुलाई पर्वतारोहण क्षेत्रमा दुर्लभ र आश्चर्यजनक घटनाका रूपमा हेरिएको छ।
सगरमाथाको कठोर वातावरणमा पाँच दिनसम्म जीवन जोगाएर फर्किएका दावा शेर्पाको उद्धारले पर्वतारोहण समुदायमा राहत र खुसीको वातावरण सिर्जना गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE