लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त

बिहीबार २१ जेठ २०८३
काठमाडौं / लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रालयहरूको नयाँ कार्यविभाजन गरेका छन्।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका थिए। पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना गरी पाँच नयाँ मन्त्रीलाई जिम्मेवारी दिइएको छ।
पुनर्गठनअनुसार तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका आदेशकुमार अग्रवालको स्थानमा अहिरलाई नियुक्त गरिएको हो।
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आगामी जेठ २५ गते सोमबारका लागि तय गरिएको छ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै प्रदेश सरकारको राजनीतिक समीकरण र कार्यगत सक्रियतामा समेत नयाँ सन्देश जाने विश्वास गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE