बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

भारत भ्रमणमा आज रवि लामिछाने, भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता हुने

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

सोमबार १८ जेठ २०८३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि आज (सोमबार) भारत प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम छ।
रास्वपा र भाजपाले सार्वजनिक गरेका विज्ञप्तिअनुसार भ्रमणको मुख्य उद्देश्य दुवै दलबीच ‘पार्टी–टु–पार्टी’ सहकार्यको आधार निर्माण गर्नु हो। भ्रमणका क्रममा संगठन निर्माण, लोकतान्त्रिक अभ्यास तथा जनतामुखी राजनीतिक कार्यशैलीका विषयमा अनुभव आदानप्रदान हुने जनाइएको छ।
भाजपाको वैदेशिक मामिला विभाग प्रमुख डा. विजय चौथाइवालेले जारी गरेको विज्ञप्तिमा रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्षसहित वरिष्ठ नेताहरूसँग विभिन्न विषयमा रचनात्मक संवाद गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ।
यद्यपि दुवै दलका औपचारिक विज्ञप्तिमा समावेश नभए पनि सभापति लामिछाने नेतृत्वको टोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरसँग समेत भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ। ती भेटघाटको समय भने अझै निश्चित भइनसकेको बताइएको छ।
स्रोतका अनुसार गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले लामिछानेलाई टेलिफोनमार्फत बधाई दिएका थिए। सोही क्रममा भारत भ्रमणको वातावरण बनेको दाबी गरिएको छ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमणको मिति तय नभइरहेको अवस्थामा रास्वपाको यो भ्रमणलाई राजनीतिक र कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटघाट र संवादलाई सहज बनाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले समेत आवश्यक समन्वय गरिरहेको बताइएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, सह–महामन्त्री एवं प्रतिनिधिसभा सदस्य बिपिन आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी रहनेछन्।
भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने राजनीतिक तथा कूटनीतिक भेटघाटका अतिरिक्त सभापति लामिछानेले त्यहाँ रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। साथै, उनले उत्तर प्रदेशस्थित अयोध्याको व्यक्तिगत भ्रमणसमेत गर्ने तालिका रहेको जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x