सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

चाँगाथलीमा नक्कली विदेशी मदिरा कारखानामा सशस्त्र प्रहरीको छापा, चार पक्राउ

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, ६ जेठ २०८३ — ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सञ्चालन हुँदै आएको नक्कली ब्राण्डेड मदिरा उत्पादन केन्द्रमा सशस्त्र प्रहरी बलले छापा मार्दै ठूलो परिमाणमा मदिरा, केमिकल तथा राजश्व स्टिकर बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल इण्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा खटिएको टोलीले विर्खबहादुर तामाङको घरमा अवैध रूपमा नक्कली विदेशी मदिरा उत्पादन भइरहेको अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार छापाका क्रममा रेड लेबल, ब्ल्याक लेबललगायत महँगा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन भइरहेको भेटिएको छ। प्रारम्भिक अनुसन्धानले उक्त गिरोहले काठमाडौं उपत्यकाका विभिन्न बजार तथा भाटभटेनी स्टोरसम्म नक्कली मदिरा आपूर्ति गर्दै आएको देखाएको छ।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार गिरोहले एउटा सक्कली मदिराको बोतलमा चीनबाट ल्याइएको केमिकल मिसाएर पाँच बोतलसम्म नक्कली मदिरा तयार गर्ने गरेको खुलेको छ। नक्कली मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकर भारतमा छपाइ गरेर ल्याइने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको टोली व्यापारीको भेषमा कारखानासम्म पुगेपछि उक्त अवैध कारोबारको रहस्य खुलेको बताइएको छ। मंगलबार मात्रै भाटभटेनीमा पठाउन तयारी अवस्थामा राखिएको ठूलो परिमाणको मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, रामेछापकै खिम्ती क्षेत्रका २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङलाई पक्राउ गरेको छ।
उक्त स्थानबाट नक्कली मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न केमिकल, उपकरण, खाली बोतल, होलोग्राम, राजश्व स्टिकर तथा प्याकेजिङ सामग्रीसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद मदिराको परिमाण अत्यधिक भएकाले विस्तृत विवरण संकलन भइरहेको छ।
प्रहरीका अनुसार यो समूह यसअघि पनि सोही क्षेत्रमा नक्कली मदिरा उत्पादनमा संलग्न रहेको खुलेको थियो। त्यसबेला पनि प्रहरीले छापा मारेर सामग्री बरामद गरेको र केही व्यक्ति पक्राउ परेका थिए। जेल सजाय भोगेर छुटेपछि पुनः सोही समूह सक्रिय भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
घटनापछि उपभोक्ता सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। प्रतिष्ठित व्यापारिक केन्द्रसम्म नक्कली मदिरा पुगिरहेको खुलासाले बजार अनुगमन र सरकारी नियमनको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।
यद्यपि भाटभटेनीलगायतका बजारमा बिक्री हुने मदिराको गुणस्तर तथा आपूर्ति शृंखलाबारे सम्बन्धित सरकारी निकायले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।
सशस्त्र प्रहरीले पक्राउ परेका चारै जनामाथि राजस्व छली, किर्ते तथा उपभोक्ता हितविपरीतका कसूरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x