सातै प्रदेशमा वर्षाको सम्भावना, मेघगर्जन र चट्याङको जोखिम

शुक्रबार १ जेठ २०८३
काठमाडौं । देशभर आज मौसम बदली भई सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु, स्थानीय वायु तथा नेपालनजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम प्रभावित बनेको हो ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै, तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
रातिको समयमा पनि कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ । ती क्षेत्रमा थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा समेत हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।
विभागले चट्याङ, वर्षा र खराब मौसमका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE