हर्क साम्पाङ–सुदन किरातीबीच पार्टी एकताको सहमति, सुदन ‘वरिष्ठ नेता’ बन्ने

शुक्रबार २५ बैशाख २०८३
काठमाडौं/ वैकल्पिक राजनीतिक धारलाई नयाँ मोड दिने गरी हर्क साम्पाङ र सुदन किराती बीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ।
श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ र पूर्वपर्यटनमन्त्री सुदन किरातीबीच लामो समयदेखि चलिरहेको छलफल अन्ततः निष्कर्षमा पुगेको बताइएको छ। प्रारम्भिक सहमतिअनुसार सुदन किरातीलाई पार्टीको ‘वरिष्ठ नेता’ को जिम्मेवारी दिइनेछ।
यद्यपि, संगठनात्मक एकतामा सहमति जुटे पनि वैचारिक र सैद्धान्तिक विषयमा थप छलफल जारी रहेको स्रोतले जनाएको छ।
यस एकतालाई औपचारिक घोषणा गर्न आज दिउँसो ३ बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। सुदन किरातीका सहयोगी हेमन्त किरातीका अनुसार पत्रकार सम्मेलनमार्फत एकताको आधार, साझा राजनीतिक एजेन्डा तथा आगामी रणनीतिबारे विस्तृत जानकारी दिइनेछ।
सुदन किरातीको राजनीतिक यात्रा
भोजपुरका प्रभावशाली नेता सुदन किराती माओवादी आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन्। तत्कालीन नेकपा माओवादी केन्द्र र अन्य शक्तिबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीप्रति असन्तुष्टि जनाउँदै उनले पछि जनार्दन शर्मासँग निकट रहेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सक्रिय भूमिका खेलेका थिए।
प्रलोपाको अध्यक्ष परिषद्का सदस्यसमेत रहेका किरातीले गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको परिणामपछि पार्टीको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए। त्यसयता उनी स्वतन्त्र राजनीतिक भूमिकामा देखिँदै आएका थिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE