मध्यम वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, बैशाख २३ — देशका विभिन्न स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। पहाडी र हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
विभागले रातिको समयमा पनि कोसी प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने जनाएको छ।
जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार गएराति २ बजेदेखि चितवनदेखि झापासम्म मध्यम वर्षा भइसकेको छ र यो प्रणाली दिउँसोसम्म कायम रहने सम्भावना छ। विशेषगरी मधेस तथा पूर्वी क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने उनले बताएका छन्।
त्यस्तै, खहरे खोलामा आकस्मिक बाढीको जोखिम हुनसक्ने तथा बीपी राजमार्गअन्तर्गत रोशी खोलामा यात्रा गर्दा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावका कारण आगामी करिब दुई हप्तासम्म देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहनेछ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभागनजिक विकसित न्यूनचापीय प्रणालीको संयुक्त प्रभावका कारण वर्षा भइरहेको विभागले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE