शनिबार, असार १३, २०८३
Saturday, June 27, 2026

मनसुन विस्तारको तयारी, कोशीमा भारी वर्षाको सम्भावना; तराईका केही क्षेत्रमा तातो हावाको चेतावनी

काठमाडौं। देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार भइरहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी चारदेखि पाँच दिनभित्र मनसुन फैलिने सम्भावना रहेको छ। बाँकी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।
हाल हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा चट्याङबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x