आइतवार, मंसिर २३, २०८१
Sunday, December 8, 2024

को हुन् प्रभुनारायण चौधरी ?

  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares

शुक्रबार ७ भदौ २०८१

नेपालको कम्युनिष्ट आन्दोलनको अथक योद्धाको नाम हो प्रभुनारायण चौधरी । नेपालमा क्रुर जहानीया राणा शासनको विरुद्ध जनताहरुले मुक्ति आन्दोलनको मशाल बालिरहेको बेला वि.सं.१९९९ साल श्रावण २६ गते सुनसरी जिल्लाको जमुवामा प्रभुनारायण चौधरीको जन्म भएको थियो । उहाँ जिरालाल र हाहिदेवीको जेष्ठ सुपुत्र हुनुहुन्थ्यो ।
उहाँले कक्षा ४ सम्मको अध्ययन आफ्नै गाउँको विद्यालयमा र कक्षा ५ देखि ८ सम्म श्री शिक्षा निकेतन धरानमा अध्ययन गर्नुभयो । त्यहाँको अध्ययनले उहाँलाई समाजमा भइरहेको अन्याय र अत्याचारको विरुद्ध संघर्ष गर्ने प्रेरणा प्राप्त भएको थियो । यही कारण उहाँ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनमा आवद्ध हुनुभएको थियो । उहाँले वि.सं.२०१५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पनि पाउनुभएको थियो । भारतको बनारसमा उहाँले कक्षा ९ र १० अध्ययन गरि वि.सं.२०१७ सालमा त्यहींबाट म्याट्रिक पास गर्नुभयो । त्यसपछि उहाँ आफ्नै गाउँको विद्यालयमा प्रधानाध्यापक भएर केही वर्ष काम गर्नुभयो । कम्युनिष्ट आन्दोलनबाट प्रभावित भई जनतामाझ संगठनको काममा सक्रिय रुपमा लागिरहंदा वि.सं.२०२५ सालमा झोरा आन्दोलनको नेतृत्व गर्ने क्रममा उहाँ पक्राउ पर्नुभयो । वि.सं.२०२५ सालदेखि विराटनगर, धनकुटा, काठमाडौं आदि स्थानमा जेल सारिरहँदाको अवस्थामा नै उहाँले वि.सं.२०३२ सालसम्ममा बी.ए. र बी.एल.सम्मको परीक्षा सर्बोत्कृष्ट अंकका साथ उत्तीर्ण गर्नुभयो । त्यहीकारण तत्कालीन सरकारले उहाँलाई गोल्ड मेडल प्रदान गरेको थियो ।
वि.सं.२०३३ सालमा उहाँ जेलबाट रिहा हुनुभयो । जेलबाट रिहा भएपछि उहाँले काठमाडौंमा कानुन व्यवसाय शुरु गर्नुभयो । यही क्रममा उहाँ २०३४ र २०३५ सालमा सर्वोच्च बारको सदस्य हुनुभयो भने वि.सं.२०४२ देखि २०४५ सालसम्म नेपाल बार एसोशिएसनको कोषाध्यक्ष हुनुभएको थियो ।
सुनसरी जिल्लाका ३ वटा विद्यालयको प्रधानाध्यापक केही वर्ष काम गर्नुभएका प्रभुनारायण चौधरीले वि.सं.२०३४ सालदेखि दुई वर्ष जति काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा पनि प्राध्यापन गर्नुभएको थियो।
वि.सं. २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको सदस्य भई आफनो राजनैतिक जीवनको शुरुवात गर्नुभएका प्रभुनाराायण चौधरी नेकपाका संस्थापक महासचिव पुष्पलालको विश्वासी सहकर्मीको रुपमा पछिसम्म पूर्ण निष्ठा र लगनशील भई जनताको माझमा काम गर्दै लोकप्रिय हुनुभयो । सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाको विरुद्ध नेपाली जनता सगठित भइरहेको बेलामा प्रभुनारायण चौधरी पनि नेपाल कम्युनिष्ट पार्टीको जिम्मेवारी लिई पूर्वाञ्चललाई आफनो कर्मस्थल बनाई जनतालाई संगठित गरी कम्युनिष्ट पार्टीलाई विस्तार गर्ने काममा पूर्ण रुपमा समर्पित भई लाग्नुभयो । पूर्वाञ्चलमा कम्युनिष्टको बाहुल्य हुनुमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो । सम्पन्न परिवारको सुखसयलले उहाँलाई किञ्चित पनि आकर्षित गर्न सकेन । पार्टीको केन्द्रमा रही पार्टी निर्देशन अनुसार जनताको मुक्ति-आन्दोलनलाई नै जीवनको मूल उद्देश्य बनाएर उहाँ संघर्षमा होमिनुभयो र यो आदर्श जीवनभर कायम राख्नुभयो । पार्टीभित्र पनि उहाँ सबैको लागि उदाहरणीय हुनुहुन्थ्यो ।
उहाँले २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह र २०४६ सालको संयुक्त जन-आन्दोलनमा पञ्चायतको विरोध गर्दै प्रजातन्त्रको पक्षमा डटेर लाग्नुभयो ।


२०३४ पछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्नुभएका प्रभुनारायण चौधरी २०४७ सालमा नेकपा (मार्क्सवादी) र नेकपा (माले) बीच एकीकरण भएर बनेको नेकपा (एमाले)को केन्द्रीय समिति सदस्य बन्नुभएको थियो तर सिद्धान्त र नीतिगत मतभेदका कारण २०४८ सालमा उहाँले सहकर्मीहरुका साथ नेकपा (एमाले)बाट विद्रोह गरी आफ्नो नेतृत्वमा नेकपा (मार्क्सवादी) पुनर्गठन गर्नुभयो । नेकपा (मार्क्सवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीवीको पक्षमा निरन्तर संघर्ष गरिरह्यो । २०५८ सालमा राजा ज्ञानेन्द्र शाहले कू गरेपछि नेकपा (मार्क्सवादी) सहितका ५ वटा वाम पार्टी मिलेर संयुक्त वाममोर्चा बनाउनमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । संयुक्त वाममोर्चाको गतिविधि अगाडि बड्दै जाँदा उहाँले नेतृत्व गरेको नेकपा (मार्क्सवादी) र नेकपा (संयुक्त) वीच एकीकरण भई नेकपा (संयुक्त मार्क्सवादी) बन्यो र सो पार्टीको अध्यक्ष पनि प्रभुनारायण चौधरी नै बन्नुभयो । संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका प्रभुनारायण चौधरीले संयुक्त वाममोर्चा सहितको ७ दल बनाउन र त्यसमा नेकपा (माओवादी)लाई समेत जोडेर २०६२/०६३ को संयुक्त जन-आन्दोलनको विकास गर्न महत्वपूर्ण योगदान गर्नुभएको थियो । संयुक्त वाममोर्चाको नेतृत्व गर्दै उहाँ २०६२/०६३ को जन-आन्दोलनलाई परिणाममुखी बनाउन लागिपर्नुभएको थियो । २०६२/०६३ को जन-आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उहाँ संयुक्त वाममोर्चाको तर्फबाट भूमिसुधार तथा व्यवस्था मन्त्री हुनुभयो । सो मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएका उहाँ नेपाल सरकारको प्रस्तावक हुनुहुन्थ्यो । आफू मन्त्री भएको समयमा उहाँले नेपाल ट्रष्ट स्थापना गरि पूर्व राजपरिवारको सम्पत्ति नेपाल ट्रष्टमा ल्याउने काम गर्नुभयो ।
जीवनभर जनतन्त्र, राष्ट्रियता र जनजीवीका पक्षमा संघर्घ गर्नुभएका प्रभुनारायण चौधरीको २०६७ भदौ २९ गते दु:खद निधन भयो ।

बिधानन्द लेखी

अध्यक्ष

प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठान

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x