पेट्रोलियम पदार्थमा कर हटाएर मूल्य घटाउन प्रभु साहको माग

मङ्गलबार ८ बैशाख २०८३
काठमाडौं / प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको ‘अनावश्यक कर’ हटाउन माग गरेका छन्। काठमाडौंको कोटेश्वरस्थित आम जनता पार्टी (आजपा) केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले करकै कारण पेट्रोलियम पदार्थको मूल्य महँगो भएको बताएका हुन्। साहका अनुसार अन्तर्राष्ट्रिय बजारअनुसार नेपाल आयल निगमले प्रतिलिटर पेट्रोल करिब १४९ रुपैयाँमा खरिद गर्ने गरेको छ, तर विभिन्न कर तथा शुल्क जोडेर २१९ रुपैयाँमा बिक्री भइरहेको छ। उनले भने, “सरकारले भन्सार, सडक मर्मत, प्रदूषण, पूर्वाधार, हरित कर, मूल्य अभिवृद्धि करलगायतका विभिन्न शीर्षकमा कर जोडेर उपभोक्तामाथि अनावश्यक भार थपेको छ।” निगमले खरिद मूल्यमा कर तथा शुल्कका रूपमा करिब ५१ रुपैयाँ ५१ पैसा र प्रशासनिक तथा अन्य खर्च करिब २ रुपैयाँ २७ पैसा थप्ने गरेको उल्लेख गर्दै साहले कर हटाएमा पेट्रोल प्रतिलिटर करिब १६३ रुपैयाँमै उपलब्ध हुन सक्ने दाबी गरे। उनले भारतको बिहार राज्यमा पेट्रोल करिब १७० नेपाली रुपैयाँमा पाइने उल्लेख गर्दै नेपालमा भने सोही पेट्रोल महँगोमा बेचिनु अनुचित भएको बताए। साहले डिजेल, मट्टितेल लगायत सबै पेट्रोलियम पदार्थमा लगाइएका अनावश्यक कर हटाएर उपभोक्तालाई राहत दिन सरकारसँग आग्रह गरेका छन्।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE