२४ घण्टाभित्र इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने चेतावनी

काठमाडौँ, वैशाख ५
राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले माग सम्बोधन नभए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी दिएको हो।
अभियानका संयोजक सुनिल सिंहले २४ घण्टाभित्र मूल्य समायोजन नगरे कडा आन्दोलनका कार्यक्रम अघि बढाइने बताए। उनका अनुसार निरन्तर बढ्दो महँगीले सर्वसाधारणको दैनिक जीवन अत्यन्त प्रभावित भएको छ।
पत्रकार सम्मेलनमा बोल्दै अभियानका प्रतिनिधिहरूले छिमेकी देशहरूमा इन्धनको मूल्य स्थिर रहँदा नेपालमा भने अत्यधिक वृद्धि हुनु अस्वीकार्य भएको बताए। उनीहरूले सरकारको निर्णयलाई ‘जनविरोधी’ भन्दै तत्काल सच्याउन माग गरेका छन्।
अभियानका सह–संयोजक अजय सोडारीले बढ्दो महँगीप्रति सरकार उदासीन बनेको आरोप लगाए। “मूल्यवृद्धि निरन्तर बढिरहेको छ, तर सरकार र सम्बन्धित निकायहरू मौन जस्तै देखिन्छन्,” उनले भने।
उनले परराष्ट्र तथा कूटनीतिक विषयमा समेत सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै कालापानी–लिपुलेकजस्ता संवेदनशील विषयमा देखिएको निष्क्रियताप्रति असन्तुष्टि व्यक्त गरे।
अभियानले चेतावनी दिएअनुसार आगामी २४ घण्टाभित्र सरकारले ठोस कदम नचाले आन्दोलन थप सशक्त हुने संकेत दिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE