ट्रम्पको चेतावनीः होर्मुज नखोले इरानमाथि कडा आक्रमणको संकेत

सोमबार २३ चैत २०८२
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज तत्काल खोल्न कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सोमबारसम्मको समयसीमा दिँदै उक्त सामुद्रिक मार्ग नखोले गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन्।
ट्रम्पले इरानका पावर प्लान्ट, पुललगायतका पूर्वाधारमा आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले इरानी नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै कडा र विवादास्पद भाषा प्रयोग गरेका छन्।
विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने स्ट्रेट अफ होर्मुज अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावपछि प्रभावित बनेको छ। यस क्षेत्रमा जहाजहरूमा आक्रमणका घटना बढेपछि आवागमन लगभग ठप्प भएको छ।
सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल आपूर्ति र ठूलो मात्रामा मल ढुवानी हुने यो मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको छ। साथै खाद्यान्न र औषधिको आपूर्तिमा समेत असर परेको छ।
यसअघि पनि ट्रम्पले पटक–पटक समयसीमा तोक्दै आएका थिए। तर पछिल्लो पटक उनले अप्रिल ६ लाई अन्तिम म्याद तोक्दै कडा कदम चाल्ने संकेत दिएका छन्।
मध्यपूर्वमा बढ्दो तनावका कारण अवस्था झन् जटिल बन्ने र यसको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने अनुमान गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE