शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

आजदेखि एसइई परीक्षा सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

बिहीबार १९ चैत २०८२
काठमाडौं । आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । यस वर्षको परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षा बिहान ८ बजेदेखि देशभरका तोकिएका केन्द्रमा एकैसाथ सञ्चालन भइरहेको छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
यस वर्ष नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी छन् । सहभागीमध्ये छात्राको संख्या बढी रहेको छ । परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना सहभागी छन् ।
परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी छन् । जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् ।
यस वर्ष परीक्षा थप व्यवस्थित, पारदर्शी र नतिजा प्रकाशन छिटो बनाउन नयाँ निर्देशिका लागू गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
उत्तरपुस्तिका परीक्षण सिसिटिभी जडान भएका सुरक्षित कक्षमा मात्र गरिनेछ । परीक्षक तथा सम्परीक्षकलाई परीक्षण कक्षमा मोबाइललगायत विद्युतीय उपकरण लैजान निषेध गरिएको छ । तोकिएको मापदण्डविपरीत कार्य गरे कारबाही गरिने व्यवस्था गरिएको छ ।
यसैबीच, यस वर्ष परीक्षा केन्द्रमा सामूहिक अनुगमनमा रोक लगाइएको छ । अनुगमनका नाममा परीक्षा हलमा अनावश्यक भीडभाड हुँदा परीक्षार्थीको लेखनमा असर परेको गुनासोपछि यस्तो निर्णय गरिएको हो ।
परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । त्यसपछि चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ र २६ गते ऐच्छिक विषय तथा चैत २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x