बिहीवार २९ फागुन २०८१
काठमाडौं / परिवारको जिम्मेवारी, आर्थिक अभाव, स्वदेशमा रोजगारीको अभावजस्ता कारणले गर्दा वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता नेपालीको छ । आर्थिक अवस्था कमजोर भएकै कारण ऋण गरेर विदेश जाने युवाको रकम कन्सल्टेन्सी, मेनपावर र एजेन्टले ठग्दा राज्य नै नभएको जस्तो भएको छ ।
वैदेशिक रोजगार विभागले माघसम्म १४ करोड ६७ लाख १ हजार ५ सय ३० रुपियाँ क्षतिपूर्ति दाबी गरेको छ । विभागमा गत पुस र माघ महिनामा मात्रै ४ करोड २१ लाख ६७ हजार ५ सय ५० रुपियाँ ठगिएको भन्दै उजुरी दिएको छ । पुस महिनामा मात्र ४ सय ५५ र माघ महिनामा ५ सय ५ जनाले विभागमा उजुरी दिएको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाँदा कसरी बच्ने ?
–वैधानिक प्रक्रिया पूरा गर्ने
सरकारी निकाय (जस्तै, श्रम तथा रोजगार कार्यालय) बाट अनुमति प्राप्त गर्ने, श्रम स्वीकृति लिनु, पहिलो पटकका लागि प्रारम्भिक श्रम स्वीकृति, नवीकरण गर्नुपरेमा पुनः श्रम स्वीकृति लिने, नेपाल सरकारद्वारा मान्यता प्राप्त म्यानपावर कम्पनीमार्फत मात्र रोजगार प्रक्रिया अघि बढाउने जस्ता कार्य गर्नुपर्दछ ।
–सम्झौता पत्र राम्ररी पढ्ने
तलब, सुविधा, कामको प्रकार, कार्य समय, बिमा, आवास, खानपानको व्यवस्था के छ भनी बुझ्ने, कुनै शंका भए स्पष्ट पार्ने वा विज्ञ वा सम्बन्धित निकायसँग सल्लाह लिने गर्नुपर्दछ ।
–आवश्यक कागजात पूरा गर्ने
राहदानी र भिसा अद्यावधिक गर्नुपर्ने, श्रम स्वीकृति तथा स्वास्थ्य परीक्षण गर्ने, आप्रवासन तथा श्रम कानुनबारे जानकारी राख्ने गर्नुपर्दछ ।
–गन्तव्य देशको कानुनी, सांस्कृतिक र सामाजिक पक्षबारे बुझ्ने
सो देशका नियम, कानुन तथा आप्रवासन नीतिहरू बुझ्ने, सांस्कृतिक भिन्नताहरूको अध्ययन गर्ने, स्थानीय भाषा सिक्ने प्रयास गर्नेजस्ता क्रियाकलाप गर्नुपर्दछ ।
–आर्थिक व्यवस्थापन गर्ने
घरपरिवारसँग आर्थिक योजना बनाउने, बैंक खाता खोल्ने र रकम पठाउने सुरक्षित माध्यम अपनाउने, ठगी वा धोखाधडीबाट जोगिन सचेत रहने ।
–सम्पर्क जानकारी सुरक्षित गर्ने
नेपाली दूतावास वा कूटनीतिक नियोगको सम्पर्क नम्बर राख्ने, आफन्त तथा साथीभाइलाई आफ्नो बसोबास र काम गर्ने ठेगाना दिने, आपत्कालीन अवस्थामा सम्पर्क गर्न मिल्ने व्यक्तिको विवरण सुरक्षित राख्नेजस्ता कार्य गर्नेजस्ता महत्वपूर्ण कार्य गर्ने ।
–दलाल वा अवैध बाटोबाट जाँदा हुने जोखिमबाट बच्ने
अवैध बाटोबाट नजाने, झुटा आश्वासन दिने दलालहरूबाट सचेत रहने, फेक म्यानपावर वा बिचौलियाको प्रलोभनमा नपर्नेजस्ता कार्य गर्नुपर्दछ ।
–सुरक्षित यात्रा र मानसिक तयारी गर्ने
विदेशमा गएर गर्ने कामका लागि मानसिक रूपमा तयार हुने, स्वास्थ्य सुरक्षामा ध्यान दिने र आवश्यक औषधिहरू बोक्ने, गन्तव्य देशको मौसम, खाना र रहनसहनबारे जानकारी राख्नेजस्ता क्रियाकलाप गर्नुपर्दछ ।source news of nepal
WRITE COMMENTS FOR THIS ARTICLE