आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

काठमाडौं / यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि पूर्ण रूपमा निषेध हुने भएको छ। निर्वाचन आयोग ले मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहेको जनाएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज राति १२ बजेसम्म मात्रै राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्। त्यसपछि लागू हुने ‘प्रचारप्रसार निषेध अवधि’ मा कुनै पनि किसिमको मत माग्ने, सभा–जुलुस गर्ने, विज्ञापन प्रसारण गर्ने वा सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्ने कार्य पूर्ण रूपमा रोक लगाइनेछ।
यो व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ। आचारसंहिताअनुसार उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले निषेध अवधिमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
आयोगले आज राति १२ बजेदेखि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउन पनि निर्देशन दिएको छ। साथै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य विद्युतीय माध्यमबाट पक्ष–विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा सेयर गर्नसमेत निषेध गरिएको छ।
मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई बाधा पुर्याउने कुनै पनि गतिविधि गर्न नहुने व्यवस्था पनि आचारसंहितामा छ।
आयोगका अनुसार आचारसंहिताको इमान्दारीपूर्वक पालना र कार्यान्वयनले स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न र मतदातालाई स्वतन्त्र वातावरणमा निर्णय गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। संविधानले दिएको अधिकारअनुसार निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र समन्वयका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE